काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संस्थापक सदस्य तथा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ मधेश प्रदेशबाट उम्मेदवार बनेकी खेम कुमारी भुर्तेल (उर्मिला) ले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन्।
२०८२ फागुन ६ गते केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै उनले पार्टीको स्थापनाकालीन मूल्य, सिद्धान्त र सार्वजनिक प्रतिबद्धताभन्दा पछिल्ला निर्णय तथा कार्यशैली विपरीत भएको अनुभूति गर्दै राजीनामा दिएको उल्लेख गरेकी छन्।
भुर्तेलले “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नाराबाट प्रेरित भई पार्टीमा आवद्ध भएको स्मरण गर्दै पछिल्लो समय पार्टीभित्र चाप्लुसीवाद, आर्थिक प्रभाव र विधि–विधान विपरीत गतिविधि बढेको आरोप लगाएकी छन्। सक्षम महिला तथा युवाहरूलाई नारामा मात्र सीमित राखिएको, जिम्मेवारी दिने ठाउँमा बेवास्ता गरिएको र संगठनभित्र भ्रष्टाचार बढेको उनको भनाइ छ।
आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति र निर्णयहरू पनि स्थापनाकालीन मूल्य–मान्यताभन्दा विपरीत रहेको उनले उल्लेख गरेकी छन्। संगठनमा दिनरात खटिएका कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको र आर्थिक अनियमितताबाट निर्णयहरू प्रभावित भएको दाबी गर्दै उनले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आघात पुगेको बताएकी छन्।
“यी सबै क्रियाकलापको साक्षी बसेर म अब मौन रहन असमर्थ छु,” उनले राजीनामापत्रमा उल्लेख गरेकी छन्।
बागमती प्रदेश, काठमाडौं महानगरपालिका–बुढानीलकण्ठ ७ निवासी भुर्तेलले पार्टीले दिएको अवसर र चुनौतीका लागि धन्यवाद व्यक्त गर्दै आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको घोषणा गरेकी छन्।