खानीडाडा, कैलाली – नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नेपाली कांग्रेस मा प्रवेश गर्ने क्रम कैलालीको चुरे क्षेत्रमा तीव्र बन्दै गएको छ।
चुरे गाउँपालिका–५, खानीडाडा मा आयोजित कार्यक्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरूमा गोरखबहादुर धामी, सागरबहादुर मगर, बालकृष्ण कँडेल, मान जाग्री, ललित तामाङ, प्रकाशबहादुर बोहरा र पुरन धामी रहेका छन्।
उनीहरूलाई कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता गोरखबहादुर विष्ट “आनन्द” ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले चुरे क्षेत्रको समग्र र दिगो विकासलाई आफ्नो मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे। “सडक र सिँचाइ विस्तार, सुरक्षित खानेपानी, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवा सुनिश्चित गर्नु हाम्रो लक्ष्य हो,” उनले भने, “जनताको चाहना विकास र सुशासन हो, र कांग्रेससँग त्यसका लागि स्पष्ट योजना छ।”
नवप्रवेशीहरूले स्थानीय आवश्यकता, जनअपेक्षा र विकासका मुद्दालाई केन्द्रमा राखेर कांग्रेस रोजेको बताएका छन्। कार्यक्रममा कांग्रेसका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले चुरे क्षेत्रको पूर्वाधार विकास, वन–पर्यावरण संरक्षण, रोजगारी सिर्जना तथा कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने धारणा राखेका थिए।
चुरे गाउँपालिका–५ मा एमालेका सक्रिय व्यक्तिहरू कांग्रेसमा प्रवेश गरेसँगै कैलाली–४ को राजनीतिक माहोल थप तातेको छ। आगामी निर्वाचन समीकरणमा यस घटनाले प्रभाव पार्ने विश्लेषण गरिएको छ।