सुकुम्बासी बस्तीमा ‘भाडा उठाउने’ प्रकरण: महिनाको ३ हजार उठ्थ्यो, कहाँ गयो पैसा?

theoutsidenepal.com

सुकुम्बासी बस्तीमा ‘भाडा उठाउने’ प्रकरण: महिनाको ३ हजार उठ्थ्यो, कहाँ गयो पैसा?


उपत्यकाका सुकुम्बासी बस्तीहरू खाली गराउने क्रममा नयाँ तथ्य बाहिर आएको छ। थापाथली लगायतका क्षेत्रमा बसोबास गर्ने केही व्यक्तिहरूले आफूहरू भाडामा बस्दै आएको खुलाएका छन्।


स्थानीयका अनुसार बस्तीभित्रै अस्थायी टहरा बनाएर धेरैलाई महिनाको करिब ३ हजार रुपैयाँसम्म भाडा लिएर बसालिएको थियो। “हामी त भाडामा बस्ने हो, हरेक महिना पैसा तिर्थ्यौं,” एक पीडितले बताए।


यससँगै प्रश्न उठेको छ—यो भाडाको रकम कसले उठाउँदै आएको थियो र कहाँ गइरहेको थियो?


प्रारम्भिक जानकारी अनुसार बस्तीभित्र अनौपचारिक रूपमा केही व्यक्तिहरूले ‘घरधनी’को भूमिका निर्वाह गर्दै भाडा उठाउने गरेको देखिएको छ। तर ती व्यक्तिहरू आधिकारिक रूपमा कुनै निकायसँग सम्बन्धित नरहेको बताइन्छ। यसले सुकुम्बासी बस्तीभित्र अनियमित र अव्यवस्थित बसोबास मात्र नभई आर्थिक शोषणसमेत भएको संकेत गरेको छ।


सरकारी निकायले अहिले सुकुम्बासीहरूको ‘स्क्रिनिङ’ गर्ने क्रममा यस्ता गतिविधिहरूको पनि अनुसन्धान सुरु गरेको जनाएको छ। वास्तविक सुकुम्बासी र भाडामा बस्नेबीच छुट्याउने काम भइरहेको छ भने अवैध रूपमा भाडा उठाउने व्यक्तिहरूको पहिचान गरी कारबाही गर्ने तयारीसमेत गरिएको छ।


यस घटनाले सुकुम्बासी बस्तीभित्र लुकेको आर्थिक चलखेल र व्यवस्थापनको कमजोरीलाई उजागर गरेको भन्दै दीर्घकालीन समाधानको आवश्यकता झन् स्पष्ट भएको छ।


प्रतिक्रिया