झापा जिल्ला क्षेत्र नं. ५ ‘इलेक्सन इपिसेन्टर’ : नेपाली सेना हाई–अलर्टमा

theoutsidenepal.com

झापा — आगामी प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा मुलुककै ध्यान तानिएको झापा जिल्ला क्षेत्र नम्बर ५ सुरक्षाको दृष्टिले कडा निगरानीमा राखिएको छ। उच्च राजनीतिक प्रतिस्पर्धाका कारण सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै नेपाली सेनाले विशेष सतर्कता अपनाएको सुरक्षा स्रोतहरूले जनाएका छन्।


निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित माघ २१ देखि नै दमक क्षेत्रमा कमान्ड पोस्ट स्थापना गरिएको बताइएको छ। गौरादहदेखि गौरीगञ्जसम्म करिब २५० भन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको स्रोतको दाबी छ। जमिनमा नियमित गस्तीका साथै आवश्यकताअनुसार हवाई निगरानीसमेत सञ्चालन भइरहेको जनाइएको छ।


सुरक्षा व्यवस्थाअन्तर्गत बम डिस्पोजल टोलीलाई उच्च सतर्कतामा राखिएको छ भने मतदान केन्द्र, मतपेटिका ओसारपसार तथा मतगणना स्थलको चौबीसै घण्टा निगरानी गरिने योजना रहेको बताइएको छ। सेना तेस्रो सुरक्षा घेरामा रहेर आवश्यक परे तत्काल हस्तक्षेप गर्ने तयारीमा रहेको स्रोतको भनाइ छ।


यस क्षेत्रमा प्रमुख दलका शीर्ष नेताहरूबीच प्रतिस्पर्धा रहेकाले सुरक्षा संवेदनशीलता बढेको विश्लेषण गरिएको छ। सुरक्षा निकायहरूले निर्वाचन बिथोल्ने वा अवाञ्छित गतिविधि गर्ने प्रयास भए कडा कारबाही गरिने चेतावनी दिएका छन्।


सुरक्षा अधिकारीहरूका अनुसार लोकतन्त्रको यो महत्त्वपूर्ण अभ्यासलाई शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न गराउन सबै संयन्त्र परिचालित गरिएको छ। निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट सन्देश दिइएको छ।


प्रतिक्रिया