प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

theoutsidenepal.com

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । सम्माननीय प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटवार्तामा नेपाल–भारतबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ। भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा चारदिने भ्रमणका क्रममा सेनाध्यक्ष सेठ आइतबार काठमाडौं आउनुभएको हो। भ्रमणका क्रममा उहाँले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको थियो।

सोही अवसरमा राष्ट्रपति पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो। नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।

यसैगरी, सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा दुई देशका सेनाबीचको सहकार्य तथा पारस्परिक हितका विषयमा छलफल भएको थियो।

भारतीय स्थल सेनाध्यक्ष सेठको नेपाल भ्रमणलाई नेपाल–भारतबीचको परम्परागत रक्षा तथा सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


प्रतिक्रिया