कञ्चनपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराज भक्त श्रेष्ठ कञ्चनपुर–२ मा पार्टीका उम्मेदवार दीपक राज बोहरालाई जिताउने अभियानसहित चुनावी मैदानमा सक्रिय देखिएका छन्। भदौ २३–२४ पछि सामूहिक राजीनामा दिएर ताजा जनादेशको खोजीमा गाउँ–गाउँ र टोल–टोल पुगेको उल्लेख गर्दै श्रेष्ठले सुदूरपश्चिम र विशेषगरी कञ्चनपुरका नागरिकबाट “हामीलाई सुशासन चाहियो” भन्ने एउटै आवाज सुनेको बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भ्रष्टाचार र विकृतिविरुद्ध संसदमा उठाइएका आवाजप्रति नागरिकको भरोसा र सचेतताले आफूहरूको जिम्मेवारी अझ बढाएको बताएका छन्। नागरिकले भोगिरहेका सानातिना समस्यासमेत समाधान गर्ने आत्मसम्मानयुक्त र सहभागितामूलक सुशासन नै अबको बाटो भएको उनको धारणा छ।
चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेटघाट तथा कार्यक्रमहरूमा श्रेष्ठले पार्टी प्रवेश गर्ने नयाँ सदस्यहरूलाई स्वागत गर्दै परिवर्तनको महायात्रामा सहकार्य गर्न आह्वान गरेका छन्। रास्वपाले कञ्चनपुर–२ मा सुशासन, पारदर्शिता र विकासका मुद्दालाई प्राथमिकतामा राखेर चुनावी अभियान अगाडि बढाइरहेको जनाएको छ।
स्थानीय स्तरमा बढ्दो जनसहभागिता र नयाँ सदस्यहरूको प्रवेशले कञ्चनपुर–२ को चुनावी माहोल तातेको देखिएको छ। श्रेष्ठको सक्रिय उपस्थितिले उम्मेदवार दीपक राज बोहराको पक्षमा ऊर्जा थपिएको रास्वपा कार्यकर्ताहरूले बताएका छन्। पार्टीले “परिवर्तनको यात्रा जारी छ” भन्ने सन्देशसहित आगामी दिनमा अभियान अझ सशक्त बनाउने जनाएको छ।