कठिन यात्रा छिचोल्दै त्रिशूली अस्पताल पुगे एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा र उपाध्यक्ष मनोज गोर्खाली, मेडिकल टिमसहित विपद्मा परेकाको उपचारमा जुटे

theoutsidenepal.com

कठिन यात्रा छिचोल्दै त्रिशूली अस्पताल पुगे एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा र उपाध्यक्ष मनोज गोर्खाली, मेडिकल टिमसहित विपद्मा परेकाको उपचारमा जुटे

रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्मा र उपाध्यक्ष मनोज गोर्खाली मानवीय सेवाको भावनासहित मेडिकल टिम लिएर नुवाकोटको त्रिशूली अस्पताल पुगेका छन्।

दुर्गम र जोखिमपूर्ण बाटोका कारण सहज यात्रा सम्भव नभए पनि पीडित नागरिकसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले उनीहरूले गल्छी–धादिङ–सुनौलो बजार–सामारी भञ्ज्याङ–भर्‍याङ भुरुङ हुँदै विदुर, नुवाकोट सम्मको कठिन यात्रा तय गरेका हुन्।

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य उपचारको आवश्यकता बढिरहेका बेला एनआरएनए नेतृत्व आफैं मेडिकल टिमसहित घटनास्थलतर्फ पुग्नुलाई मानवीय सेवाप्रतिको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।

त्रिशूली अस्पतालमा पुगेको मेडिकल टोलीले विपद्बाट प्रभावित तथा उपचार आवश्यक रहेका नागरिकको स्वास्थ्य अवस्था बुझ्दै आवश्यक उपचार, स्वास्थ्य परामर्श तथा औषधि सहयोगमा समेत सहजीकरण गर्ने बताइएको छ।

“देशमा विपत्ति पर्दा विदेशमा रहे पनि नेपाली मन नेपालमै हुन्छ” भन्ने भावनालाई व्यवहारमै उतार्दै एनआरएनए नेतृत्वले कठिन परिस्थितिमा समेत प्रभावित नागरिकको साथमा उभिएको छ।

बाढीपहिरोले सडक तथा यातायात अवरुद्ध बनाएको अवस्थामा जोखिम मोलेरै मेडिकल टिम लिएर अस्पतालसम्म पुगेका अध्यक्ष डा. शर्मा र उपाध्यक्ष गोर्खालीको यो पहलले एनआरएनए केवल आर्थिक सहयोगमा सीमित नभई संकटको घडीमा प्रत्यक्ष सेवामा समेत अग्रसर रहेको सन्देश दिएको छ।

विपद्को पीडामा परेका नागरिकलाई राहत, उपचार र मानवीय सहयोग आवश्यक भइरहेका बेला एनआरएनएको यो प्रत्यक्ष स्वास्थ्य सेवा अभियानले प्रभावित परिवारमा थप आशा र भरोसा जगाएको छ।


प्रतिक्रिया