प्रवासी नेपालीको शक्तिले बदलिँदै नेपालको भविष्य, रोबिन शेरचनको दूरदर्शी दृष्टिकोण चर्चामा

theoutsidenepal.com

प्रवासी नेपालीको शक्तिले बदलिँदै नेपालको भविष्य, रोबिन शेरचनको दूरदर्शी दृष्टिकोण चर्चामा

काठमाडौं । विश्वभर छरिएर रहेका लाखौं नेपालीहरूको संघर्ष, सफलता र समर्पणलाई नेपालको समृद्धिसँग जोड्ने विषयमा गैरआवासीय नेपाली संघ (NRNA ICC) का वरिष्ठ उपाध्यक्ष तथा व्यापार तथा लगानी विभागका सभापति रोबिन शेरचनले प्रस्तुत गरेको दूरदर्शी विचार यतिबेला व्यापक चर्चा र प्रशंसा बटुल्न सफल भएको छ।

मध्यान्न दैनिकमा प्रकाशित आफ्नो विशेष लेखमार्फत शेरचनले प्रवासी नेपालीहरू केवल रेमिट्यान्स पठाउने समुदाय मात्र नभई नेपालको आर्थिक रूपान्तरणका प्रमुख साझेदार भएको स्पष्ट सन्देश दिएका छन्। उनले विश्वका विभिन्न देशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालमा भित्र्याउन सके देशले आर्थिक विकासमा ऐतिहासिक फड्को मार्न सक्ने धारणा व्यक्त गरेका छन्।

शेरचनले नेपालीहरूको वैदेशिक यात्रा केवल जीविकोपार्जनको माध्यम नभई राष्ट्र निर्माणको अभियान भएको उल्लेख गर्दै लाखौं प्रवासी नेपालीको पसिना र परिश्रमले नेपालको अर्थतन्त्रलाई कठिन समयमा समेत धान्दै आएको बताएका छन्। उनले अब रेमिट्यान्सलाई उपभोगमुखी खर्चबाट उत्पादनमूलक लगानी, उद्योग, पर्यटन, कृषि, प्रविधि र रोजगारी सिर्जनाका क्षेत्रमा केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनको विचारले “रेमिट्यान्सबाट लगानीतर्फ” भन्ने अभियानलाई नयाँ ऊर्जा प्रदान गरेको विश्लेषकहरूको भनाइ छ। विशेषगरी नेपालमा विदेशी लगानी आकर्षित गर्ने, युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा विश्वभर रहेका नेपालीहरूको आर्थिक शक्तिलाई राष्ट्रिय समृद्धिमा रूपान्तरण गर्ने विषयमा शेरचनले उठाएका एजेन्डाहरूलाई दूरगामी महत्वका रूपमा हेरिएको छ।

लेख प्रकाशनका लागि मध्यान्न दैनिक परिवारप्रति आभार व्यक्त गर्दै शेरचनले प्रवासी नेपालीहरूको योगदानलाई सम्मान गर्दै उनीहरूको क्षमता र सम्भावनालाई राष्ट्र विकाससँग जोड्न राज्यले स्पष्ट नीति र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

नेपालको आर्थिक भविष्यबारे आशावादी दृष्टिकोण प्रस्तुत गर्दै शेरचनको यो विचार अहिले प्रवासी नेपाली समुदाय, व्यवसायी, नीति निर्माता तथा युवापुस्तामाझ प्रेरणाको स्रोत बनेको छ। धेरैले उनको अवधारणालाई “समृद्ध नेपालको मार्गचित्र” का रूपमा समेत व्याख्या गर्न थालेका छन्।


प्रतिक्रिया