‘४ लाख ५० हजारको विवादमा पक्राउ, तर २८ लाखभन्दा बढी भुक्तानी गरिसकेका छौँ’ : सन्तोष साह सचिवालय
काठमाडौं, असार २ — बेलायतको चर्चित टेलिभिजन प्रतियोगिता Santosh Shah का फाइनलिस्ट तथा नेपाली सेफ सन्तोष साह पक्राउ प्रकरणबारे उहाँको सचिवालयले विस्तृत स्पष्टीकरण सार्वजनिक गरेको छ।
सचिवालयले जारी गरेको विज्ञप्तिमा सेफ साहलाई हतार र पूर्वाग्रही ढंगले पक्राउ गरिएको दाबी गर्दै यसले उहाँले वर्षौँको मेहनतबाट आर्जन गरेको प्रतिष्ठा, सम्मान र गरिमामा गम्भीर आघात पुगेको जनाएको छ। पक्राउ प्रक्रिया नियोजित रूपमा मानमर्दन गर्ने उद्देश्यले गरिएको भन्दै सचिवालयले आपत्ति जनाएको छ।
विज्ञप्तिअनुसार सेफ साहले मिथिला समुदायको खानाको प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरमा ‘मिथिला थाली’ सञ्चालन गर्दै आउनुभएको थियो। सोही अवधारणालाई विस्तार गर्दै काठमाडौंको गैरीधारामा पनि ‘मिथिला थाली’ रेस्टुरेन्ट सञ्चालन गरिएको सचिवालयको भनाइ छ।
सचिवालयका अनुसार गैरीधारामा पहिले ‘सिला’ नामक रेस्टुरेन्ट सञ्चालन गरिरहेको आर्जव होल्डिङ्स प्रालिले आर्थिक समस्याका कारण व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेपछि उक्त रेस्टुरेन्टका सम्पूर्ण सम्पत्ति दुई करोड २५ लाख रुपैयाँमा खरिद गरी मिथिला थाली सञ्चालनमा ल्याइएको थियो।
सम्झौताअनुसार मिथिला थालीले आर्जव होल्डिङ्सको तर्फबाट ४० लाख रुपैयाँ घरभाडा बक्यौता तथा दुई लाख ७७ हजार ९९७ रुपैयाँ विद्युत् महसुलसमेत सम्बन्धित निकायलाई भुक्तानी गरेको दाबी गरिएको छ। साथै नेपाल बैंकबाट लिएको ऋणको किस्ता तिर्नसमेत सहजीकरण गरिएको उल्लेख छ।
सचिवालयले पछिल्लो समय चर्चामा आएको २५ लाख रुपैयाँको चेकसम्बन्धी विषयमा पनि स्पष्टिकरण दिएको छ। उक्त रकमका लागि विभिन्न बैंक खातामार्फत कुल २८ लाख २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी भइसकेको दाबी गर्दै भुक्तानी बैंकिङ प्रणालीमार्फत गरिएको जनाएको छ।
विज्ञप्तिमा आर्जव होल्डिङ्सको प्रतिनिधि बताइएकी सकुन्तला थापाले व्यक्तिगत खातामा रकम माग गरे पनि कम्पनीसँग भएको सम्झौताअनुसार कम्पनीकै खातामा भुक्तानी गरिएको उल्लेख गरिएको छ। साथै खरिद–बिक्री प्रक्रिया पूरा भए पनि कम्पनीले आवश्यक कर चुक्ता कागजात र बिल उपलब्ध नगराएको आरोप पनि लगाइएको छ।
पक्राउको विषयमा सचिवालयले अदालतबाट विवादित रकम चार लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने फैसला आएको भए पनि त्यसविरुद्ध उच्च अदालत जाने तयारी भइरहेको अवस्थामा पक्राउ गरिएको दाबी गरेको छ। हदम्याद बाँकी रहँदाहुँदै पक्राउ गरिएको भन्दै सचिवालयले प्रश्न उठाएको छ।
सचिवालयका अनुसार सेफ साह केही समयअघि स्वयं प्रहरी कार्यालयमा उपस्थित भएको अवस्थामा पक्राउ नगरिएको तर पछि सानो रकमको विवादमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली जनकपुरसम्म पुगेर पक्राउ गरेको विषय पनि आश्चर्यजनक रहेको जनाएको छ।
हाल सेफ साह हिरासतमुक्त भइसकेको सचिवालयले जनाएको छ। साथै रेस्टुरेन्ट खरिद–बिक्री, आर्थिक कारोबार तथा पक्राउ प्रकरणबारे सेफ साह स्वयंले थप जानकारी सार्वजनिक गर्ने बताइएको छ।
सन्तोष साह पक्राउ प्रकरण सार्वजनिक चासोको विषय बनेको छ भने यसबारे सम्बन्धित पक्षहरूका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन्। घटनाको वास्तविकता अदालत तथा सम्बन्धित निकायको प्रक्रियाबाट थप स्पष्ट हुने अपेक्षा गरिएको छ।