CIB प्रमुख एआईजी उमा चतुर्वेदीद्वारा मानव बेचबिखन अनुसन्धान ब्यूरोको निरीक्षण, प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन
काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रमुख एआईजी उमा चतुर्वेदीले बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्यूरोको निरीक्षण तथा भ्रमण गर्नुभएको छ।
निरीक्षणका क्रममा एआईजी चतुर्वेदीले ब्यूरोको समग्र कार्यसम्पादन, अनुसन्धानका गतिविधि तथा प्रहरी कर्मचारीले निर्वाह गरिरहेको जिम्मेवारीबारे जानकारी लिनुभएको थियो।
सो अवसरमा उहाँले ब्यूरोमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई समसामयिक तथा सान्दर्भिक विषयमा आवश्यक निर्देशनसमेत दिनुभएको थियो। मानव बेचबिखनजस्तो संवेदनशील तथा गम्भीर अपराधको अनुसन्धानमा प्रहरीले थप संवेदनशीलता, व्यावसायिकता र प्रभावकारिताका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
एआईजी चतुर्वेदीले प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी पूर्ण व्यावसायिकता, इमानदारिता, अनुशासन र उच्च मनोबलका साथ निर्वाह गर्न निर्देशन दिनुभयो।
मानव बेचबिखन नियन्त्रण तथा पीडितको संरक्षणका लागि अनुसन्धानलाई तथ्यमा आधारित, प्रभावकारी र परिणाममुखी बनाउनुपर्ने उहाँको भनाइ थियो। साथै, अपराध अनुसन्धानका क्रममा प्रहरीको आचरण, संवेदनशीलता र सेवाग्राहीप्रतिको व्यवहारलाई उच्च प्राथमिकतामा राख्न पनि उहाँले निर्देशन दिनुभएको छ।
निरीक्षण भ्रमणले मानव बेचबिखन अनुसन्धानमा कार्यरत प्रहरी कर्मचारीलाई थप उत्साह र जिम्मेवारीबोध गराउँदै अपराध नियन्त्रण तथा अनुसन्धानलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।