काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग जोडिएको विषयमा उत्पन्न भ्रम र विवादप्रति औपचारिक रूपमा माफी मागेको छ। संघभित्र समन्वयको अभाव हुँदा एउटै लेटर प्याडमा फरक–फरक विज्ञप्ति सार्वजनिक हुन पुगेको स्वीकार गर्दै एनआरएनएले क्षमायाचना गरेको हो।
शुक्रबार जारी संयुक्त विज्ञप्तिमा एनआरएनएका अध्यक्ष बद्री केसी र अर्का अध्यक्ष महेश कुमार श्रेष्ठले पछिल्लो घटनाक्रमबाट सिर्जित परिस्थितिप्रति दुःख व्यक्त गर्दै, यसले सम्बन्धित सबै पक्षमा भ्रम उत्पन्न गराएको स्वीकार गरेका छन्।
विवादको केन्द्रमा रहेको विषयमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनसीसी अमेरिका) का अध्यक्ष सतेन्द्र साह पक्षधर समूहले मन्त्री गुप्तालाई अमेरिकामा हुने कुनै पनि कार्यक्रममा औपचारिक रूपमा आमन्त्रण नगरिएको दाबी गर्दै आएको थियो।
तर अर्कोतर्फ, विकास उप्रेति अध्यक्ष रहेको राष्ट्रिय समन्वय परिषद्ले भने ‘जेन–जी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावना’ विषयक कार्यक्रमको सन्दर्भमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई औपचारिक निमन्त्रण गरिएको स्पष्ट पारेको छ। परिषद्का अनुसार मन्त्रीलाई कार्यक्रममा सहभागी हुन विधिवत् निमन्त्रणा पठाइएको थियो।
एउटै संस्थाभित्रबाट आएको यी फरक–फरक धारणाले व्यापक भ्रम सिर्जना भएपछि एनआरएनए नेतृत्व दबाबमा परेको थियो। अन्ततः केन्द्रीय तहबाट माफी माग्दै भविष्यमा यस्ता संवेदनशील विषयमा आन्तरिक समन्वयलाई थप मजबुत बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।