जापानका लागि नेपाली राजदूतमा जिज्ञानकुमार थापाको सम्भावनाप्रति युवा व्यवसायी भुवन अधिकारी आशावादी

theoutsidenepal.com

जापानका लागि नेपाली राजदूतमा जिज्ञानकुमार थापाको सम्भावनाप्रति युवा व्यवसायी भुवन अधिकारी आशावादी

द टन न्युज । काठमाडौं ।

जापानमा लामो समयदेखि बसोबास गर्दै आएका युवा व्यवसायी तथा सपना ग्रुप जापानका मालिक भुवन अधिकारीले जापानका लागि नेपाली राजदूत बन्न प्रस्तावित जिज्ञानकुमार थापाको सम्भावनाप्रति आशावादी रहेको बताएका छन्।

अधिकारीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै थापा जापानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाल्न योग्य रहेको विश्वास व्यक्त गरेका हुन्। उनले थापाको जापानी भाषा तथा संस्कृतिसम्बन्धी ज्ञान, जापानको व्यावहारिक अनुभव र विभिन्न समुदायसँग समन्वय गरेर काम गर्न सक्ने क्षमतालाई महत्त्वपूर्ण विशेषताका रूपमा उल्लेख गरेका छन्।

अधिकारीका अनुसार जापानको समाज, भाषा, संस्कृति र कार्यशैलीलाई नजिकबाट बुझेको व्यक्तिले राजदूतको जिम्मेवारी सम्हाल्दा नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान दिन सक्छ। उनले जापानमा रहेका नेपाली समुदायसँग निकट सम्बन्ध कायम गर्दै दुई देशबीचको कूटनीतिक, आर्थिक तथा सामाजिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्।

उनले जापानमै लामो समयदेखि बसोबास गरेको, जापानी समाजलाई बुझेको र त्यहाँको अनुभव हासिल गरेको व्यक्तिलाई राजदूतका रूपमा अघि बढाउनुपर्ने धारणा आफूहरूले करिब एक वर्षअघिदेखि नै राख्दै आएको पनि बताएका छन्। यसअघि आफूहरूले दुई जना योग्य व्यक्तिको नामसमेत प्रस्ताव गरेको उल्लेख गर्दै उनले व्यक्तिगत कारणले अहिले अर्को व्यक्तिको नाम सार्वजनिक गर्न नचाहेको स्पष्ट पारेका छन्।

नेपाल–जापान सम्बन्धमा नयाँ सम्भावनाको अपेक्षा

अधिकारीले थापाले राजदूतको जिम्मेवारी प्राप्त गरेमा नेपाल र नेपाली जनताको हितमा उत्कृष्ट काम गर्ने अपेक्षा व्यक्त गरेका छन्। जापानमा रहेका नेपालीको हित संरक्षण, समुदायसँगको सहकार्य र अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न अनुभवी तथा जापानी समाजलाई बुझेको प्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।

उनले थापाको सम्भावित नियुक्तिका लागि पहिलेदेखि नै साथ, समर्थन र सद्भाव व्यक्त गर्ने सम्पूर्ण शुभचिन्तक, अग्रज तथा सम्बन्धित व्यक्तित्वहरूप्रति आभारसमेत व्यक्त गरेका छन्।

अन्त्यमा अधिकारीले थापा जापानका लागि नेपाली राजदूत नियुक्त हुने विश्वास व्यक्त गर्दै नियुक्ति भएमा नेपालकै उत्कृष्ट राजदूतमध्ये एक बनेर देशको प्रतिष्ठा बढाउन सफल होऊन् भन्ने शुभकामना दिएका छन्।

द टन न्युज
Accuracy, Balance and Credibility


प्रतिक्रिया