सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठनपछि ल्हाक्पा फुटी शेर्पाको चुनावी अभियान तीव्र

theoutsidenepal.com

उज्यालो नेपाल पार्टी सोलुखुम्बुबाट प्रतिनिधित्व गर्दै समानुपातिक उम्मेदवार ल्हाक्पा फुटी शेर्पा ज्युले सोलु–काठमाडौं सम्पर्क समिति गठन गरेसँगै आफ्नो चुनावी अभियानलाई थप सशक्त र संगठित बनाउनु भएको छ। पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उत्साहजनक उपस्थितिमा सम्पन्न कार्यक्रमले सोलुखुम्बुवासीबीच नयाँ ऊर्जा र आशा थपिएको बताइएको छ।


सम्पर्क समिति गठनसँगै शेर्पा ज्युले सोलुखुम्बु जिल्लाबासी आम मतदाता ज्युहरूमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ “चिम” र समानुपातिकतर्फ “बासुँरी” चिन्हमा मतदान गरी उज्यालो नेपालको अभियानलाई सफल पारिदिन हार्दिक अपिल गर्नु भएको छ। उहाँले आफ्नो उम्मेदवारीलाई सोलुखुम्बुको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र पर्यटन प्रवर्द्धनसँग जोड्दै दृढ प्रतिबद्धता व्यक्त गर्नुभयो।


उहाँले भन्नुभयो, “सोलुखुम्बु केवल हिमालको पहिचान होइन, सम्भावनाको अथाह भण्डार हो। अब विकासका ठूला योजना, युवा उद्यमशीलता र महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्दै जिल्लालाई समृद्धिको मार्गमा अघि बढाउने समय आएको छ।”


कार्यक्रममा उपस्थित स्थानीय अगुवा, बुद्धिजीवी तथा युवाहरूले शेर्पा ज्युको नेतृत्वमा उज्यालो नेपाल पार्टीले वैकल्पिक र स्वच्छ राजनीति स्थापित गर्ने विश्वास व्यक्त गरेका थिए।


सोलुखुम्बु–काठमाडौं सम्पर्क समिति गठनले राजधानीमा रहेका सोलुखुम्बुवासीबीच संगठनात्मक एकता मजबुत बनाउने र निर्वाचनमा उल्लेखनीय समर्थन जुटाउने विश्वास लिइएको छ। चुनावी माहोल तातेका बेला शेर्पा ज्युको सक्रियता र स्पष्ट एजेण्डाले सोलुखुम्बुमा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।


प्रतिक्रिया