NRNA NCC USA ले नाम दुरुपयोग गरी भइरहेका अवैध गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गरायो

theoutsidenepal.com

फेयरफ्याक्स, भर्जिनिया | ८ जनवरी २०२६

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (NRNA NCC USA)ले आफ्नो नाम, लोगो, EIN नम्बर तथा डिजिटल पहिचान दुरुपयोग गरी केही व्यक्ति वा समूहले अवैध तथा अनधिकृत गतिविधि सञ्चालन गरिरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारेको छ।

NRNA NCC USA ले जारी गरेको प्रेस विज्ञप्तिमा संघ संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको एक आधिकारिक संस्था भएको उल्लेख गर्दै, संस्थाको नाम र पहिचान प्रयोग गरी गरिने कुनै पनि अनधिकृत गतिविधिले गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठागत जोखिम सिर्जना गर्ने बताइएको छ।



विज्ञप्तिमा भनिएको छ—NRNA NCC USA को आधिकारिक जानकारी, स्वीकृति तथा निर्णय बिना कुनै पनि व्यक्ति वा समूहले संस्थाको नाम, EIN नम्बर, वेबसाइट वा डिजिटल प्लेटफर्म प्रयोग गरी कार्यक्रम, आर्थिक संकलन (fundraising) वा अन्य गतिविधि सञ्चालन गर्नु गैरकानुनी हो र त्यसको पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा समूह स्वयं हुनेछन्।

संघले स्पष्ट रूपमा जानकारी गराएको छ कि नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरिएको छैन, न त NRNA NCC USA ले अमेरिकामा कुनै युवा सम्बन्धी कार्यक्रम आयोजना गरेको छ।

NRNA NCC USA ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै निम्न बुँदाहरू स्पष्ट पारेको छ:

• संघको नाममा कुनै पनि अनधिकृत गतिविधि, कार्यक्रम वा कथित युवा अभियानसँग NRNA NCC USA को कुनै संलग्नता, स्वीकृति वा सम्बन्ध छैन।

• संघको आधिकारिक स्वीकृति बिना आयोजना गरिने कुनै पनि कार्यक्रम, भ्रमण, संकलन वा गतिविधि पूर्ण रूपमा अवैध हुनेछन्।

• संस्थाको नाम र पहिचान दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

• अनधिकृत कार्यक्रममा सहभागी हुने व्यक्तिहरूको यात्रा, आवास तथा अन्य खर्चको जिम्मेवारी NRNA NCC USA ले नलिने स्पष्ट गरिएको छ।

• विषयको गम्भीरतालाई मध्यनजर गर्दै यस्ता गैरकानुनी गतिविधिबारे अमेरिकी Homeland Security तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइसकिएको संघले जनाएको छ।

NRNA NCC USA ले सबै सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा समुदायका सदस्यहरूलाई यस्ता अनधिकृत गतिविधिबाट सतर्क रहन र आधिकारिक जानकारीका लागि संघको मान्य माध्यममार्फत मात्र सूचना लिन अनुरोध गरेको छ।

प्रेस विज्ञप्तिमा संस्थाको तर्फबाट प्रवक्ता सन्देश उप्रेतीले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया