मलेसियामा भव्य ‘गौरा पर्व विशेष कार्यक्रम’ हुँदै, सुदूरपश्चिमको संस्कृति विश्वभर चिनाउने तयारी

theoutsidenepal.com

मलेसियामा भव्य ‘गौरा पर्व विशेष कार्यक्रम’ हुँदै, सुदूरपश्चिमको संस्कृति विश्वभर चिनाउने तयारी

क्वालालम्पुर, मलेसिया । सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको आयोजनामा आगामी ६ सेप्टेम्बर २०२६ मा क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र पहिचानलाई झल्काउने भव्य ‘गौरा पर्व विशेष कार्यक्रम’ आयोजना हुने भएको छ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमलाई मलेसियामा रहेका नेपाली समुदायले विशेष चासोका साथ हेरेका छन्। कार्यक्रमले नेपालीहरूबीच आपसी एकता, सद्भाव, भाइचारा र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ।

सुदूरपश्चिमको समृद्ध लोकसंस्कृति र परम्परालाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै प्रवासमा समेत त्यसको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का ‘खप्तडी’ले जानकारी दिनुभयो।

विशिष्ट व्यक्तित्वको उपस्थिति

कार्यक्रममा नेपालका पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री, पूर्व गृहमन्त्री एवं पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री डा. भीमबहादुर रावलको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल राजदूतावास, मलेसियाको समेत विशेष उपस्थिति रहने बताइएको छ।

गौरा पर्वलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई प्रवासमा नेपाली एकता र पहिचानको साझा उत्सवका रूपमा मनाउने तयारी गरिएको आयोजकको भनाइ छ।

चर्चित कलाकारको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति

कार्यक्रममा सुदूरपश्चिमका मौलिक भाका तथा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। बहुचर्चित नवउँदयमान गायक जे.आर. भट्ट, गायक जनकराज महरासहित स्थानीय कलाकारहरू टेकम पाण्डे ‘जिज्ञासु’, भक्त बी.सी., रमेश शेसी, बिरेन्द्र सुनार र काशी गुरुङको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

त्यसैगरी बिना तामाङ, भिम घलान तामाङ र डोम्साङ गोले तामाङलगायतका कलाकारहरूको आकर्षक नृत्य प्रस्तुति पनि कार्यक्रममा रहनेछ।

सांस्कृतिक प्रस्तुति, संगीत र नृत्यमार्फत सुदूरपश्चिमको मौलिकता तथा नेपाली विविधताको सुन्दर झल्को दिने तयारी गरिएको छ।

प्रवासमा गौरा पर्वको छुट्टै महत्व

गौरा पर्व सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानसँग गहिरोसँग जोडिएको पर्व हो। रोजगारी तथा विभिन्न सिलसिलामा मलेसियामा रहेका नेपालीहरूले आफ्नो जन्मभूमिको संस्कृति र परम्परालाई प्रवासमै निरन्तरता दिनु यस कार्यक्रमको प्रमुख विशेषता बन्नेछ।

आयोजकले मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई गौरा पर्वको मौलिकता, नेपाली एकता र सुदूरपश्चिमको सांस्कृतिक गौरवलाई अन्तर्राष्ट्रिय भूमिमा उजागर गर्न हार्दिक अनुरोध गरेको छ।

६ सेप्टेम्बरमा क्वालालम्पुरमा हुने गौरा पर्व विशेष कार्यक्रम प्रवासी नेपालीका लागि संस्कृति, संगीत, भेटघाट र एकताको विशेष संगम बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया