धरान, १ फागुन – कोशी प्रदेश सभाकी सदस्य मिना श्रेष्ठ ले आज संसदको शून्य समयमा महिला नेतृत्वमाथि हुने अनलाइन हिंसाविरुद्ध स्पष्ट आवाज उठाउनुभएको छ।
श्रेष्ठले सरकार, सम्बन्धित सुरक्षा निकाय र साइबर ब्यूरोसँग जोडदार माग गर्दै तीन मुख्य बुँदा राख्नुभएको छ:
- फेक आइडीमार्फत अश्लील गालीगलौज गर्ने व्यक्तिहरूको पहिचान गरी तत्काल कानुनी कारबाही गरियोस्।
- साइबर अपराध नियन्त्रण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरियोस्।
- महिला नेतृ तथा सार्वजनिक व्यक्तित्वमाथि हुने अनलाइन हिंसा विरुद्ध स्पष्ट नीतिगत र संरचनागत व्यवस्था गरियोस्।
श्रेष्ठले यस सदनमार्फत सबै राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई अपिल गर्दै, महिला नेतृत्वमाथि हुने अनलाइन हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन आव्हान गर्नुभएको छ।
उहाँको भनाइअनुसार, “महिला हुनु कमजोरी होइन, नेतृत्व गर्नु अपराध होइन। डराएर गालीगलौज वा चरित्र हत्या गरेर अनलाइन पोष्टलाई नियन्त्रण गर्न सकिँदैन। यस विषयलाई गम्भीरतासाथ लिएर दोषीमाथि कडा कारबाही गरी महिला नेतृत्वको सम्मान, सुरक्षा र गरिमा सुनिश्चित गर्न आवश्यक छ।”
14 February 2026