एनआरएनए १७औँ युरोप क्षेत्रीय सम्मेलन डब्लिनमा हुँदै, ३५ देशबाट २०० भन्दा बढी प्रतिनिधि सहभागी

theoutsidenepal.com

एनआरएनए १७औँ युरोप क्षेत्रीय सम्मेलन डब्लिनमा हुँदै, ३५ देशबाट २०० भन्दा बढी प्रतिनिधि सहभागी

डब्लिन/लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन आगामी अगस्ट १० र ११ मा आयरल्याण्डको राजधानी डब्लिनस्थित र्याडिसन होटलमा आयोजना हुने भएको छ। सम्मेलनमा ३५ देशबाट २०० भन्दा बढी प्रतिनिधिको सहभागिता सुनिश्चित भइसकेको छ भने कुल सहभागिता करिब २५० पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुली सम्मेलनका प्रमुख अतिथिका रूपमा सहभागी हुने जानकारी दिए। उनले वर्तमान राजनीतिक सन्दर्भमा पराजुलीको सहभागिताले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।

डा. शर्माले युरोप, एशिया लगायतका क्षेत्रीय सम्मेलनहरूले गैरआवासीय नेपालीको लगानी, नागरिकता तथा अधिकारसँग सम्बन्धित मुद्दालाई थप सशक्त बनाउने अपेक्षा व्यक्त गर्दै सम्मेलनपछि काठमाडौंमा पदाधिकारीहरूको बैठकबाट नयाँ कार्यक्रम सार्वजनिक गरिने बताए।

युरोप संयोजक रोवर्ट लिम्बुको उपस्थितिमा जारी विज्ञप्तिअनुसार सम्मेलनमा युरोपसहित विश्वभरबाट एनआरएनए आईसीसी तथा एनसीसीका पदाधिकारी, उद्यमी, पेशाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व, दोस्रो पुस्ताका गैरआवासीय नेपाली र समुदायका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सम्मेलनमा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदी, डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुप्रिया सिंहालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा विषयगत सत्र आयोजना गरिनेछन्। गैरआवासीय नेपाली नागरिकता तथा अधिकार, नेपालमा लगानी, महिला सशक्तीकरण, युवा तथा दोस्रो पुस्ताको नेतृत्व विकास, सूचना प्रविधि, उद्यमशीलता, सुरक्षित आप्रवासन, स्वास्थ्य, कानुनी पहुँच तथा भाषा–संस्कृति संरक्षणजस्ता विषयमा विशेष छलफल हुनेछ।

आयोजकका अनुसार सम्मेलनले सन् २०३० र त्यसपछिका वर्षका लागि विश्वभर रहेका नेपाली डायस्पोराको भूमिका तथा नेपालको विकासमा उनीहरूको साझेदारीबारे साझा मार्गचित्र तयार गर्ने लक्ष्य लिएको छ। साथै, गैरआवासीय नेपालीका अधिकार र सरोकार नेपाल सरकार तथा राजनीतिक नेतृत्वसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्दै नेपाल र डायस्पोराबीच आर्थिक, सामाजिक तथा ज्ञानमा आधारित सहकार्य विस्तार गर्ने उद्देश्य सम्मेलनले लिएको छ।


प्रतिक्रिया