चितवनमा रास्वपाको पहिलो महाधिवेशन: सुरक्षाका लागि १,०८७ प्रहरी परिचालन

theoutsidenepal.com

चितवन, असार ६ — चितवनको भरतपुरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनलाई लक्षित गर्दै कडा सुरक्षा व्यवस्था मिलाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले महाधिवेशन अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन १ हजार ८७ जना जनपद प्रहरी परिचालन गर्ने जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल का अनुसार असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि खुला र बन्द सत्रलाई लक्षित गर्दै छुट्टाछुट्टै सुरक्षा रणनीति तयार गरिएको छ। कार्यक्रम स्थल तथा आसपासका क्षेत्रमा सुरक्षा निगरानी थप कडा बनाइने उनले बताए।

यस्तै, महाधिवेशन अवधिमा सवारीसाधनको चाप व्यवस्थापन गर्न १६५ जना ट्राफिक प्रहरी खटाइने भएको छ। सहभागीहरूको सहज आवागमन सुनिश्चित गर्न ट्राफिक व्यवस्थापन योजना समेत लागू गरिने जनाइएको छ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा सर्वसाधारणको सङ्ख्या ठूलो हुने अनुमानका बीच पार्किङ व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ। भरतपुरस्थित वीरेन्द्र क्याम्पस पछाडिको चौर तथा केन्द्रीय बसपार्क क्षेत्रमा सवारी पार्किङका लागि विशेष व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

रास्वपा चितवनका सभापति मिनि माधव खनाल का अनुसार बन्द सत्रमा करिब ३ हजार ५०० देखि ४ हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। त्यसैगरी उद्घाटन सत्रमा करिब ४० हजारसम्म सहभागी उपस्थित हुने अनुमान गरिएको छ।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठन विस्तार, भावी रणनीति र नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। महाधिवेशनलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन सुरक्षा निकाय, स्थानीय प्रशासन तथा पार्टी संगठनले आवश्यक तयारीलाई तीव्रता दिएका छन्।

प्रतिक्रिया