३ करोड रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्री सहयोग, नेपाल औषधि आयातकर्ता संघद्वारा स्वास्थ्य मन्त्री निशा मेहतालाई हस्तान्तरण

theoutsidenepal.com

३ करोड रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्री सहयोग, नेपाल औषधि आयातकर्ता संघद्वारा स्वास्थ्य मन्त्री निशा मेहतालाई हस्तान्तरण

काठमाडौं । भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उपचार तथा स्वास्थ्य सुरक्षाका लागि नेपाल औषधि आयातकर्ता संघ (MIAN) ले करिब ३ करोड रुपैयाँ बराबरको औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ।

संघका अध्यक्ष पवन कुमार आचार्यले उक्त औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई मन्त्रालयमै हस्तान्तरण गर्नुभएको हो। उक्त सहयोगबारे युवा व्यवसायी डा. अबुल हुसेन अन्सारीले जानकारी दिनुभएको छ।



बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा उपचारका क्रममा आवश्यक पर्ने औषधि तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन संघले आफ्ना सदस्य संस्थाहरूबाट सामग्री संकलन गरी सरकारलाई उपलब्ध गराएको हो।


३ करोड रुपैयाँ बराबरको यो स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा बाढी प्रभावित क्षेत्र तथा स्वास्थ्य संस्थाहरूमा आवश्यकता र प्राथमिकताका आधारमा वितरण गरिने जनाइएको छ।


विपद्को कठिन परिस्थितिमा नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै औषधि आयातकर्ता तथा व्यवसायीहरूले सामाजिक उत्तरदायित्व निर्वाह गरेको अध्यक्ष आचार्यले बताउनुभएको छ। संघले आगामी दिनमा पनि प्रभावित क्षेत्रको आवश्यकता अनुसार सरकारसँग निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।


युवा व्यवसायी डा. अबुल हुसेन अन्सारीका अनुसार राज्यका निकायसँगै निजी क्षेत्र र औषधि व्यवसायीहरू एकजुट भएर विपद् प्रभावित नागरिकको उद्धार, राहत र उपचारमा सहयोग गर्नु अहिलेको प्रमुख आवश्यकता हो।


बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य उपचारमा प्रत्यक्ष सहयोग पुग्ने गरी उपलब्ध गराइएको ठूलो परिमाणको औषधि तथा स्वास्थ्य सामग्रीले राहत तथा उपचार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


यसैबीच, नेपाल औषधि आयातकर्ता संघको मिडिया कोर्डिनेसन तथा सञ्चार व्यवस्थापनमा सहजीकरण गर्दै ‘द टन न्युज’का अध्यक्ष एवं सम्पादक एचबी ताम्राकार पनि उक्त हस्तान्तरण कार्यक्रममा उपस्थित हुनुभएको थियो। ताम्राकारले विपद्को समयमा निजी क्षेत्रबाट गरिएको मानवीय सहयोगलाई सञ्चारमाध्यममार्फत व्यापक रूपमा जनसमक्ष पुर्‍याउनु महत्वपूर्ण रहेको बताउनुभएको छ।

प्रतिक्रिया