एनआरएनए आईसीसीको वरिष्ठ उपाध्यक्षमा शक्तिशाली युवा व्यवसायी रोविन शेरचन

theoutsidenepal.com

एनआरएनए आईसीसीको वरिष्ठ उपाध्यक्षमा शक्तिशाली युवा व्यवसायी रोविन शेरचन, संस्थागत एकताका लागि अध्यक्ष दौडबाट पछि हट्ने निर्णय


काठमाडौं । गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association – NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को वरिष्ठ उपाध्यक्ष पदमा प्रभावशाली युवा व्यवसायी रोविन शेरचन चयन भएका छन्। विश्वभरका धेरै एनआरएनए अभियन्ताहरूले उनलाई अध्यक्षका रूपमा अघि बढाउन तयार रहेको चर्चा चलिरहेका बेला शेरचनले संस्थागत एकता र स्थायित्वलाई प्राथमिकता दिँदै वरिष्ठ उपाध्यक्षकै भूमिकाबाट काम गर्ने निर्णय लिएका हुन्।


एनआरएनएभित्र व्यापक लोकप्रियता कमाएका शेरचनलाई यसपटक अध्यक्ष बनाउन ठूलो समर्थन देखिएको थियो। तर उनले संस्थालाई विभाजनभन्दा एकतामा अघि बढाउने उद्देश्यले अध्यक्ष पदको प्रतिस्पर्धाबाट पछि हट्दै वरिष्ठ उपाध्यक्षका रूपमा संस्थालाई सुदृढ बनाउने जिम्मेवारी स्वीकार गरेका छन्।


राजनीतिक संस्कार र सहकार्यको भावना प्रदर्शन गर्दै शेरचनले अध्यक्षमा निर्वाचित डा. हेमराज शर्मा लाई नेतृत्वका रूपमा स्वीकार गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्रोतका अनुसार, डा. शर्माको कार्यकाल सफल बनाउन सहकार्य गर्ने र कार्यकालपछि शेरचनलाई अध्यक्ष पदमा अघि बढाउन आपसी समझदारी भएको बताइएको छ।


युवा उद्यमशीलता, स्पष्ट दृष्टिकोण र सामाजिक सक्रियताका कारण शेरचन प्रवासी नेपाली समुदायमा निकै लोकप्रिय मानिन्छन्। समर्थकहरूका अनुसार उनको नेतृत्व क्षमताले एनआरएनएलाई अझ सशक्त, एकताबद्ध र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने विश्वास गरिएको छ।


प्रवासी नेपाली समुदायमा ‘नयाँ पुस्ताको नेतृत्व’ का रूपमा चिनिएका शेरचनले आगामी दिनमा संस्थागत सुधार, लगानी प्रवर्द्धन र विश्वभर रहेका नेपालीबीच एकताको भावना बलियो बनाउने अपेक्षा गरिएको छ। 


प्रतिक्रिया