चितवन–२ मा रोचक भिडन्त : ‘राजनीतिक क्रेज’ का अगाडि ‘सामाजिक सेवा’— मीना खरेलको सशक्त चुनौती

theoutsidenepal.com

चितवन ।चितवन–२ को प्रतिनिधिसभा निर्वाचन यसपटक असाधारण बहस र उत्साहका बीच प्रवेश गरेको छ। एकातिर राष्ट्रिय चर्चा र राजनीतिक क्रेजको प्रतीक बनेका Rabi Lamichhane, अर्कोतिर ३५ वर्षदेखि महिला तथा बालबालिकाको क्षेत्रमा अनवरत क्रियाशील समाजसेवी Meena Kharel।


यसपटकको चुनावलाई धेरैले “राजनीतिक लहर” बनाम “सामाजिक सेवा” को प्रतिस्पर्धाका रूपमा हेर्न थालेका छन्।


३५ वर्षको सामाजिक अभियान

५४ वर्षीया मीना खरेल भरतपुर महानगरपालिका–४ की स्थायी बासिन्दा हुन्। समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी उनले झण्डै साढे तीन दशक महिला, बालबालिका र घरेलु हिंसाविरुद्धको अभियानमा बिताएकी छन्।

उनले असहाय, हिंसापीडित, बहुविवाहबाट पीडित महिला र जबरजस्ती करणीका कारण जन्मिएका बालबालिकाको उद्धार, कानूनी सहायता र पुनर्स्थापनामा उल्लेखनीय भूमिका खेलेकी छन्।

उनकै नेतृत्वमा सञ्चालित ‘आदर्श गृह’ ले चितवनमा पीडित महिला तथा बालबालिकाको संरक्षण र पुनर्स्थापनाको केन्द्रका रूपमा पहिचान बनाएको छ। सीपमूलक तालिममार्फत पीडित महिलालाई स्वरोजगार बनाउने अभियानले उनलाई राजनीतिकभन्दा बढी सामाजिक छविको रूपमा स्थापित गरेको छ।

संस्थागत नेतृत्व र सामाजिक विस्तार

मीना खरेल

  • आदर्श नारी क्लबकी संस्थापक सचिव
  • आदर्श नारी विकास केन्द्र, भरतपुरकी अध्यक्ष
  • असहाय महिला तथा बालबालिका पुनर्स्थापना केन्द्र ‘आदर्श गृह’की संस्थापक संयोजक
  • सडक बालबालिका पुनर्स्थापना केन्द्र ‘हाम्रो घर’, नारायणगढकी संस्थापक
  • आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष
  • सामुदायिक सेवा केन्द्र, नारायणगढकी संस्थापक अध्यक्ष


का रूपमा विभिन्न संस्थागत भूमिकामा सक्रिय रहँदै आएकी छन्।



राजनीतिक यात्रा र पृष्ठभूमि

विद्यार्थीकालमै शुल्क वृद्धिको विरोध गर्दा पक्राउ परेकी मीना २०४६ सालको जनआन्दोलनमा नेविसंघका तर्फबाट सक्रिय भइन्। वीरेन्द्र क्याम्पसमा नेविसंघ अध्यक्ष बनेकी उनी पछि कांग्रेस चितवन जिल्ला कार्यसमिति सदस्य हुँदै हाल महासमिति सदस्य छिन्।


२०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिका वडा नं. ५ बाट महिला वडा सदस्य निर्वाचित भएकी मीना यसपटक पहिलोपटक प्रतिनिधिसभा सदस्यका रूपमा चुनावी मैदानमा उत्रिएकी हुन्।


चितवन–२ को राजनीतिक समीकरण


२०५६ पछि यो क्षेत्रमा कांग्रेसले जित निकाल्न सकेको छैन।


  • २०६४ मा माओवादी केन्द्र
  • २०७० र २०७४ मा नेकपा (एमाले)
  • २०७९ र २०८० को निर्वाचनमा रास्वपाका सभापति Rabi Lamichhane विजयी



भएका थिए।


यसपटक भने कांग्रेसले गठबन्धन नगरी मीना खरेललाई मैदानमा उतारेको छ। अघिल्ला चुनावहरूमा देखिने आन्तरिक मतभेद र असहयोग यसपटक नदेखिएको दाबी गरिएको छ। पार्टीभित्र अभूतपूर्व एकता देखिएको कांग्रेस स्रोतको भनाइ छ।

बल र चुनौती

भरतपुर–४, जुन रास्वपाको प्रभावशाली क्षेत्र मानिन्छ, त्यहीँकी स्थानीय बासिन्दा हुनु मीना खरेलका लागि ठूलो बल हो। उनको वाक्पटुता, तार्किक क्षमता, सहयोगी स्वभाव र लामो सामाजिक सेवा पृष्ठभूमि चुनावी मैदानमा महत्वपूर्ण आधार मानिएको छ।

तर, रास्वपाको बलियो जनआधार र राजनीतिक लहर उनका लागि प्रमुख चुनौती बनेको छ।

चितवन–२ को निर्वाचन परिणामले यसपटक “लोकप्रिय राजनीतिक अनुहार” र “स्थापित सामाजिक अभियान” मध्ये कुन पक्ष बलियो ठहरिन्छ भन्ने स्पष्ट पार्नेछ। राजनीतिक विश्लेषकहरूका अनुसार, यो प्रतिस्पर्धाले चितवनको चुनावलाई राष्ट्रिय स्तरमै चासोको विषय बनाएको छ।

प्रतिक्रिया