११औँ एनआरएनए एसिया–प्यासिफिक सम्मेलनमा सहभागी हुन सांसद खुस्बु ओली चीन प्रस्थान गर्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं सांसद खुस्बु ओली ११औँ एनआरएनए एसिया–प्यासिफिक सम्मेलन २०२६ मा सहभागी हुन चीन प्रस्थान गर्दैछिन्।
सामाजिक सञ्जालमार्फत आफ्नो चीन भ्रमणबारे जानकारी दिँदै सांसद ओलीले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूले ज्ञान, सीप, लगानी र अनुभवमार्फत नेपालको विकासमा पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताएकी छन्।
उनले सम्मेलनलाई गैरआवासीय नेपालीका सरोकार सुन्ने, नेपालसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा साझा सम्भावनाका विषयमा विचार आदानप्रदान गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको उल्लेख गरेकी छन्।
अतिथि वक्ताका रूपमा सम्मेलनमा सहभागी हुन निमन्त्रणा प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै ओलीले सम्मेलनका सार्थक छलफलबाट नेपाल र विश्वभर रहेका नेपाली समुदायबीचको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरेकी छन्।
११औँ एनआरएनए एसिया–प्यासिफिक सम्मेलन चीनको ग्वाङ्झाउमा अगस्ट १५ र १६ तारिख आयोजना हुँदैछ।