काठमाडौं — नेपाल सरकार अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभाग ले इराकमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था सुरु गरेको छ।
मन्त्रिपरिषद्को २०८२/०९/११ गतेको निर्णयअनुसार, वैदेशिक रोजगारीका क्रममा इराक पुगेका र त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकहरू नेपाल फर्किएपछि श्रम स्वीकृति लिन पाउने व्यवस्था गरिएको विभागले जनाएको छ।
विभागका अनुसार श्रम स्वीकृति प्राप्त गर्न इच्छुक श्रमिकहरूले वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (FEIMS) मार्फत आवेदन दिनुपर्नेछ। आवेदनका लागि आवश्यक कागजातहरूमा कम्तीमा तीन महिना अवधि बाँकी रहेको राहदानी, आधिकारिक भिसा, बीमा तथा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको प्रमाण, रोजगारदाता कम्पनीसँगको करार सम्झौता लगायत समावेश छन्।
त्यसैगरी, इराक प्रवेश र प्रस्थानको अध्यागमन छाप, अभिमुखीकरण तालिम तथा मेडिकल परीक्षण गरेको प्रमाण पनि अनिवार्य गरिएको छ। श्रम स्वीकृति लिन चाहने व्यक्तिले सम्बन्धित कागजातसहित विभागमा स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
सरकारले यस निर्णयमार्फत इराकमा कार्यरत नेपाली श्रमिकहरूको वैधानिकता सुनिश्चित गर्नुका साथै उनीहरूको सुरक्षा र अधिकार संरक्षणमा थप सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।