एनआरएनएको ६ उपाध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी, ददीवाल खडकाको पक्षमा बढ्दो माहोल

theoutsidenepal.com

काठमाडौं । Non-Resident Nepali Association (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को ६ उपाध्यक्ष पदका लागि ९ जनाको उम्मेदवारी दर्ता भएको छ।


बुधबार भएको मनोनयन दर्ता कार्यक्रममा उपाध्यक्ष पदका लागि ददीवाल खड्का, दिनेश पोखरेल, जुनु गुरुङ, खगेन्द्र न्यौपाने, महेन्द्र ओली, मनोज कुमार श्रेष्ठ, प्रविन गुरुङ, पूर्णचन्द्र बानियाँ र रोजिना प्रधान राईले उम्मेदवारी दर्ता गराएका छन्।


उम्मेदवारमध्ये जापानमा सफल नेपाली व्यवसायी तथा नेपाली व्यवसायी संघ जापानका वरिष्ठ उपाध्यक्ष ददीवाल खडकाको पक्षमा एनआरएनएभित्र उल्लेखनीय माहोल देखिएको बताइएको छ। लामो समयदेखि प्रवासी नेपाली समुदायमा सक्रिय रहँदै आएका खड्काले सामाजिक अभियान, व्यवसायिक सञ्जाल विस्तार र प्रवासी नेपालीको हितका मुद्दामा निरन्तर काम गर्दै आएको कारण उनको उम्मेदवारीलाई सकारात्मक रूपमा हेरिएको छ।


यसैबीच, Non-Resident Nepali Association International Coordination Council (एनआरएनए आईसीसी) को १२औँ महाधिवेशन तथा विश्व सम्मेलन यही मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने तयारी गरिएको छ। उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ।


महिला उपाध्यक्ष पदमा भने टिका गुरुङ निर्विरोध निर्वाचित भएकी छन्। यस्तै, एक जना युवा उपाध्यक्षका लागि भिमसेन थापा, मदनराज पौडेल र ओमन गौचनबीच प्रतिस्पर्धा हुने भएको छ।


एनआरएनएको आगामी नेतृत्व चयनलाई लिएर विश्वभर रहेका गैरआवासीय नेपालीहरूबीच चासो बढिरहेको छ भने विभिन्न पदका उम्मेदवारहरू यतिबेला समर्थन जुटाउन सक्रिय देखिएका छन्।


प्रतिक्रिया