सञ्चारमन्त्री तिमिल्सिना र हुवावे एसिया–प्रशान्त क्षेत्रीय अध्यक्ष टेरी हे बीच शिष्टाचार भेट

theoutsidenepal.com

सञ्चारमन्त्री तिमिल्सिना र हुवावे एसिया–प्रशान्त क्षेत्रीय अध्यक्ष टेरी हे बीच शिष्टाचार भेट


काठमाडौं, ४ असार : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग चिनियाँ कम्पनी हुवावेका एसिया–प्रशान्त क्षेत्रीय अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।


मन्त्रालयमा भएको भेटमा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरिरहेको उल्लेख गर्दै हुवावेसँग आवश्यक प्रविधि, अनुभव र स्रोतसाधन रहेकाले नेपालसँग सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले डिजिटल नेपालको अभियानलाई प्रभावकारी बनाउन दूरसञ्चार पूर्वाधारको आधुनिकीकरण, स्वच्छ ऊर्जा प्रविधि, आधुनिक डेटा सेन्टर निर्माण, कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ तथा अन्य डिजिटल पूर्वाधारका क्षेत्रमा सहकार्य गर्न कम्पनी तयार रहेको जानकारी दिनुभयो ।


भेटका क्रममा मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्र सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै देशभर गुणस्तरीय र भरपर्दो सेवा विस्तारमा जोड दिइरहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा हुवावेले लामो समयदेखि दिएको प्राविधिक सहयोगप्रति सकारात्मक धारणा व्यक्त गर्दै सेवा र कार्यसम्पादनमा कुनै प्रश्न उठ्ने अवस्था आउन नहुने स्पष्ट पार्नुभयो ।


मन्त्री तिमिल्सिनाले काममा देखिन सक्ने समस्या वा कमजोरीलाई तत्काल समाधान गर्न र पारदर्शिता तथा कार्यकुशलतालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गर्नुभयो ।


नेपाल टेलिकममा हुवावेको प्राविधिक सहयोग रहेको सन्दर्भ उल्लेख गर्दै उहाँले सेवाग्राहीबाट आउने गुनासो समाधानका लागि दुवै पक्षबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।


साथै, मन्त्री तिमिल्सिनाले नेपालमा सञ्चालन हुने सबै व्यावसायिक गतिविधि स्वच्छ, पारदर्शी र उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै कुनै पनि प्रकारको बिचौलिया प्रणालीलाई स्थान नदिन आग्रह गर्नुभयो ।


प्रतिक्रिया