“आरोहण”पछि अब क्यानाडाबाट “समृद्धि”को शंखघोष, एनआरएनए अमेरिकाज क्षेत्रीय सम्मेलन २०२७ क्यानाडामा
नेपाल र नेपालीको साझा समृद्धिको यात्रालाई विश्वभरका नेपाली समुदायसँग जोड्ने उद्देश्यसहित एनआरएनए अमेरिकाज क्षेत्रीय सम्मेलन २०२७ क्यानाडामा आयोजना हुने भएको छ। सम्मेलन अप्रिल २४–२५, २०२७ मा क्यानाडामा आयोजना हुने घोषणा गरिएको हो।
एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक भुवन खरेलले सामाजिक सञ्जालमार्फत सम्मेलनको मिति सार्वजनिक गर्दै नेपाल र नेपालीको साझा समृद्धिको अभियानमा सहभागी हुन विश्वभर रहेका नेपालीलाई क्यानाडामा हार्दिक निमन्त्रणा गरेका छन्।
एसिया–प्यासिफिक क्षेत्रमा हालै सम्पन्न ११औँ क्षेत्रीय सम्मेलन “आरोहण २०२६ – Rising Together, Leading Forward” को सफलतापछि अब अमेरिकाज क्षेत्रबाट “समृद्धि”को नयाँ अभियान अघि बढाउन लागिएको खरेलले बताएका छन्।
खरेलका अनुसार आगामी सम्मेलन केवल औपचारिक जमघटमा सीमित नभई नेपालमा लगानी, पर्यटन प्रवर्द्धन, कृषि, ऊर्जा, उद्यमशीलता तथा भावी पुस्ताको सशक्तीकरण जस्ता महत्वपूर्ण विषयमा विश्वभरका नेपालीलाई एउटै मञ्चमा जोड्ने अभियानका रूपमा अघि बढाइनेछ।
“समृद्धि अब क्यानाडामा” भन्ने सन्देशसहित आयोजना हुन लागेको सम्मेलनले प्रवासमा रहेका नेपालीको ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको समृद्धिसँग जोड्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
नेपाल निर्माणको अभियानमा प्रवासी नेपालीको भूमिकालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित आयोजना हुन लागेको सम्मेलनमा विश्वका विभिन्न मुलुकबाट नेपाली समुदायका अगुवा, व्यवसायी, युवा, महिला, सामाजिक अभियन्ता तथा एनआरएनए अभियन्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
अमेरिकाज क्षेत्रीय संयोजक खरेलले सबैलाई आफ्नो क्यालेन्डरमा अप्रिल २४–२५, २०२७ को मिति सुरक्षित राख्न आग्रह गर्दै क्यानाडामा भेला भएर एकता, सहकार्य र समृद्धिको नयाँ यात्रालाई अझ बलियो बनाउन आह्वान गरेका छन्।
“हामी सबै भेटौँ, जोडिऔँ र नेपाल निर्माणको यात्रालाई अझ बलियो बनाऔँ” भन्ने मूल भावसहित अघि बढाइएको यो अभियानले आगामी दिनमा एनआरएनए र मातृभूमिबीचको सम्बन्धलाई थप आर्थिक, सामाजिक र भावनात्मक रूपमा मजबुत बनाउने विश्वास गरिएको छ।