पश्चिम नवलपरासी — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट नेता देवेन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। पार्टीको क्षेत्रीय समितिबाट उनको एकल नाम सिफारिस भएपछि उम्मेदवारी तय भएको हो।
उम्मेदवार बनेपछि पौडेलले पश्चिम नवलपरासीसँग आफ्नो पुरानो सम्बन्ध र अनुभव रहेको बताएका छन्। उनले माओवादी द्वन्द्वकालमा अवध प्रदेशको इन्चार्जका रूपमा कार्य गर्दा यहाँका विभिन्न स्थान घुमेको, स्थानीय समस्या बुझेको र जनतासँग प्रत्यक्ष काम गरेको स्मरण गरे।
राजनीतिक यात्रामा सक्रिय रहेका पौडेल बागलुङ क्षेत्र नम्बर २ बाट दुई पटक सांसद निर्वाचित भइसकेका छन्। उनले यसपटक बागलुङमा युवालाई अवसर दिने प्रतिबद्धता जनाउँदै नयाँ क्षेत्रमा उम्मेदवारी दिएको स्पष्ट पारे।
पौडेलको उम्मेदवारीसँगै पश्चिम नवलपरासी–२ मा चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ। स्थानीय अनुभव, राजनीतिक पृष्ठभूमि र संगठनात्मक सक्रियताका आधारमा उनले मतदातामाझ नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ।