इप्पान सचिवमा कृष्ण घिमिरे र सदस्यमा नारायण कंडेल निर्विरोध, भिनोलिभामा सम्मान तथा शुभकामना कार्यक्रम
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को सचिव पदमा निर्विरोध निर्वाचित भएका बिकास हाइड्रोपावर, बुढिगण्डकी हाइड्रोपावर तथा साङ्ग्रीला हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे तथा सदस्यमा निर्वाचित नारायण कंडेललाई बधाई तथा शुभकामना प्रदान गरिएको छ।
भिनोलिभा रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा उहाँहरूलाई स्वागत तथा सम्मान गर्दै ऊर्जा क्षेत्रको विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरिएको थियो।
कार्यक्रममा बोल्दै भिनोलिभा रेस्टुरेन्ट प्रालिका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष खगेन्द्र न्यौपानेले कृष्ण घिमिरे र नारायण कंडेलको नेतृत्वले नेपालको ऊर्जा क्षेत्र, निजी लगानी प्रवर्द्धन तथा जलविद्युत् विकासमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उनले ऊर्जा क्षेत्रको संस्थागत सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण तथा जलविद्युत् उत्पादन विस्तारमा नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा समेत व्यक्त गरे।
न्यौपानेले नवनिर्वाचित पदाधिकारीहरूको कार्यकाल सफल, उपलब्धिमूलक र समग्र ऊर्जा क्षेत्रका लागि फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गर्दै इप्पानलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन सफल हुने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपालको ऊर्जा विकास यात्रामा अझ प्रभावकारी योगदानको अपेक्षा गरिएको छ।