भूमिहीनका नाममा झुटा विवरण पेश गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही हुने
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापन प्रक्रियामा झुटा विवरण वा नक्कली अभिलेख पेश गरी जग्गा लिन खोज्ने व्यक्तिमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
समितिले बुधबार जारी गरेको सूचनाअनुसार जग्गा प्राप्त गर्ने उद्देश्यले आफ्नो वास्तविक विवरण लुकाउने, गलत विवरण वा नक्कली कागजात पेश गर्ने, वा त्यस्ता विवरणका आधारमा जग्गा तथा संरचना प्राप्त गरेको वा प्राप्त गर्ने प्रयास गरेको पाइएमा सम्बन्धित व्यक्तिविरुद्ध कानुनबमोजिम कारबाही गरिनेछ।
समितिले झुटा विवरण प्रमाणित भएमा त्यस्ता विवरण सिफारिस गर्ने सिफारिसकर्तासमेत कानुनी कारबाहीको दायरामा आउने स्पष्ट पारेको छ। भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२(घ) बमोजिम यस्ता कसुरमा सजायको व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ।
भूमि समस्या समाधान समितिले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासी व्यवस्थापन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र कानुनसम्मत बनाउन सबै सरोकारवालालाई सही, सत्य र प्रमाणित विवरण मात्र पेश गर्न आग्रह गरेको छ।
समितिले गलत विवरणका आधारमा सरकारी सुविधा लिन खोज्ने कार्य कानुनविपरीत भएकाले यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैलाई सचेतसमेत गराएको छ।