द टन न्युज, वैशाख ३ गते, २०८३।
काठमाडौं — नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय ले नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास सँग शिष्टाचार भेट गर्दै द्विपक्षीय सम्बन्ध, मध्यपूर्वको वर्तमान अवस्था तथा सहयोगका सम्भावनाबारे विस्तृत छलफल गरेका छन्।
उपाध्यायको निवासमा सम्पन्न उक्त भेटघाट करिब डेढ घण्टा चलेको थियो। भेटमा नेपाल–इजरायल सम्बन्धको इतिहास, प्रविधि तथा रोजगारीका क्षेत्रमा सहकार्य, साथै मध्यपूर्वमा जारी द्वन्द्व र त्यसको समाधानका सम्भावनाबारे गहिरो विचार–विमर्श भएको जनाइएको छ।
भेटका क्रममा राजदूत बासले नेपाल सरकारले इजरायलसँगको सम्बन्धलाई अपेक्षित गम्भीरताका साथ अघि नबढाएकोप्रति चिन्ता व्यक्त गरेका थिए। विशेषगरी संयुक्त राष्ट्रसंघ (UN) मा इजरायलसम्बन्धी प्रस्तावहरूमा नेपालले निरन्तर विरोधमा मतदान गर्दै आएको विषयलाई उनले आश्चर्यजनक रूपमा लिएको उल्लेख गरिएको छ।
यस सन्दर्भमा पूर्वसचिव उपाध्यायले नयाँ सरकारसँग नयाँ ढंगले कूटनीतिक सम्बन्ध अघि बढ्ने सम्भावनाप्रति आशावादी रहेको धारणा व्यक्त गरेका छन्। उनले नेपालले इजरायलबाट प्रविधि, विज्ञान र विकासका क्षेत्रमा धेरै कुरा सिक्न सक्ने उल्लेख गर्दै दुई देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
राजदूत बासले इजरायलले विगतदेखि नै नेपाललाई प्राविधिक सहयोग तथा रोजगारीका अवसर प्रदान गर्दै आएको र आगामी दिनमा पनि यस्तो सहयोग विस्तार गर्न सकिने बताएका छन्। उनले दुई देशबीचको सम्बन्धलाई अझ सक्रिय र परिणाममुखी बनाउन आफूहरूको गहिरो इच्छा रहेको स्पष्ट पारे।
छलफलका क्रममा इजरायल जस्तो भौगोलिक र जनसंख्याका हिसाबले सानो भए पनि प्रविधि, विज्ञान र व्यवस्थापनका माध्यमबाट विश्वशक्ति बन्न सफल देशबाट नेपालले सिक्नुपर्ने धेरै पक्षहरू रहेकोमा दुवै पक्ष सहमत देखिएका थिए।
पूर्वसचिव उपाध्यायले उक्त भेटलाई अत्यन्त ज्ञानवर्द्धक र उपलब्धिमूलक भएको उल्लेख गर्दै इजरायल तथा मध्यपूर्वको राजनीति सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेको बताएका छन्। साथै, भविष्यमा पनि यस्ता भेटघाटलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ।
यो भेटले नेपाल–इजरायल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने सम्भावनालाई थप बल दिएको विश्लेषण गरिएको छ।