सुशासनदेखि पर्यटन प्रवर्द्धनसम्म सरकारका पाँच प्राथमिकता सार्वजनिक
काठमाडौं । Swarnim Wagle ले सरकारले आगामी दिनमा सुशासन, आर्थिक पुनर्संरचना, कनेक्टिभिटी विस्तार, सामाजिक लगानी तथा पर्यटन–संस्कृति प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित NewBiz Conclave & Business Excellence Awards 2026 कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारको सुधार एजेन्डा दीर्घकालीन परिवर्तनतर्फ केन्द्रित रहेको बताए।
उनले विगतमा देखिएका सुशासनसम्बन्धी कमजोरीप्रति जनतामा असन्तुष्टि रहेको उल्लेख गर्दै विशेषगरी युवापुस्ताले उठाएको आवाजप्रति धन्यवाद व्यक्त गरे। “अब विगतका गलत अभ्यास दोहोरिन दिइने छैन,” उनले भने।
अर्थतन्त्रबारे बोल्दै वाग्लेले दिगो र दीर्घकालीन आर्थिक वृद्धिका लागि नेपालको आर्थिक आधार संरचनालाई पुनर्संरचना गर्ने सरकारको योजना रहेको बताए।
कनेक्टिभिटी सरकारको अर्को मुख्य प्राथमिकता रहेको उल्लेख गर्दै उनले सडक, डिजिटल पूर्वाधार र हवाई क्षेत्रको विकासमा ठूलो लगानी गरिने जानकारी दिए। उनले निजी क्षेत्रको सहभागिता बढाएर विकासलाई तीव्र बनाउने सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारे।
त्यसैगरी सामाजिक लगानी, पर्यटन, संस्कृति तथा सम्पदामार्फत नेपालको अन्तर्राष्ट्रिय छवि र ‘सफ्ट पावर’ सुदृढ गर्ने दिशामा पनि सरकार केन्द्रित रहने उनले बताए।
“यी नै आगामी बजेट तथा हाम्रो कार्यकालका प्रमुख प्राथमिकता हुन्,” अर्थमन्त्री वाग्लेले भने, “आगामी दिनमा यी योजनालाई अझ मजबुत र विस्तार गर्दै लैजानेछौं।”