प्रवासका नेपालीको अधिकार र नेपालको समृद्धिका लागि अन्तर्राष्ट्रिय नेपाली मञ्चलाई सशक्त बनाउने समय : डिएस शेर्पा

theoutsidenepal.com

प्रवासका नेपालीको अधिकार र नेपालको समृद्धिका लागि अन्तर्राष्ट्रिय नेपाली मञ्चलाई सशक्त बनाउने समय : डिएस शेर्पा

लिस्बन । प्रवासमा रहेका नेपालीको हकहित, अधिकार र सम्मानका पक्षमा सशक्त आवाज उठाउँदै आएको अन्तर्राष्ट्रिय नेपाली मञ्चको पोर्तुगल राष्ट्रिय अधिवेशनप्रति शेर्पा समाजका प्रभावशाली नेता डिएस शेर्पाले भव्य सफलताको शुभकामना व्यक्त गरेका छन्।

शेर्पाले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रवासमा रहेका नेपालीको अधिकार संरक्षणसँगै नेपालको आर्थिक तथा सामाजिक विकासमा समेत अन्तर्राष्ट्रिय नेपाली मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा अघि सारेका छन्।


नेपालमा परिवर्तनको नेतृत्व गरेका वामपन्थी राजनीतिक शक्तिहरूबीच एकताको वातावरण बनेसँगै प्रवासमा क्रियाशील पूर्व नेकपा (माओवादी केन्द्र) निकट नेपाली जनप्रगतिशील मञ्च तथा पूर्व नेकपा (एकीकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्च लगायतका संगठनहरूबीचको वाम एकताबाट नयाँ स्वरूपमा ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’ निर्माण भएको शेर्पाले उल्लेख गरेका छन्।

उनका अनुसार, यो एकता केवल संगठनको नाम परिवर्तन मात्र नभई प्रवासमा रहेका नेपालीको साझा आवाजलाई थप मजबुत, व्यवस्थित र प्रभावकारी बनाउने महत्वपूर्ण कदम हो। मञ्चले प्रवासी नेपालीका अधिकार, हकहित तथा नेपाल र नेपाली समाजको आर्थिक–सामाजिक रूपान्तरणका लागि परिणाममुखी ढंगले काम गर्नुपर्ने उनको जोड छ।


शेर्पाले आगामी दिनमा संगठनलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउन नयाँ योजना, स्पष्ट कार्यदिशा तथा सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्।

यसैबीच, अन्तर्राष्ट्रिय नेपाली मञ्च, पोर्तुगलको आठौँ राष्ट्रिय अधिवेशन आगामी सेप्टेम्बर २७ मा पोर्तुगलको राजधानी लिस्बनमा हुँदैछ। अधिवेशनले संगठनको आगामी कार्यदिशा तय गर्नुका साथै सक्षम नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।

प्रवासमा रहेका नेपाली समुदायको अधिकार र नेपालको समृद्धिसँग जोडिएका विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षासहित हुन लागेको अधिवेशनलाई महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

अधिवेशनको पूर्ण सफलताको कामना गर्दै शेर्पाले आयोजक, प्रतिनिधि तथा सहभागी सबैलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया