एनआरएनए आइसीसी सल्लाहकार गंगाधर गौतम र सुभाष जोशी सम्मानित

theoutsidenepal.com

एनआरएनए आइसीसी सल्लाहकार गंगाधर गौतम र सुभाष जोशी सम्मानित

बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियमको बुझबुझार्थ तथा नवनिर्वाचित कार्यसमितिको परिचयात्मक कार्यक्रम बेल्जियमको लुभेनमा सम्पन्न भएको छ। नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सभापति तथा सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल नांमग्याल जंग्वु शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निर्वाचन समिति संयोजक तथा संस्थाका पूर्व अध्यक्ष **इन्द्रबहादुर क्षेत्री (पकवान)**को विशेष उपस्थिति रहेको थियो।

दुई चरणमा सम्पन्न कार्यक्रममा समितिको नेतृत्व हस्तान्तरणसँगै नयाँ कार्यसमितिले आगामी कार्यकालका प्राथमिकता, संगठन विस्तार र संस्थागत गतिविधिका विषयमा छलफल गरेको थियो। पहिलो चरणको बैठक निवर्तमान सभापति सुबाष गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने दोस्रो चरणको बैठक २० जुलाई २०२६ मा सम्पन्न अधिवेशनबाट निर्वाचित सभापति देबु शर्मा पौडेलको अध्यक्षतामा बसेको थियो।

पहिलो चरणको कार्यक्रम निवर्तमान महामन्त्री प्रकाशराज गिरीले सञ्चालन गर्नुभएको थियो। महामन्त्री गोबिन्द सिंह अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले शुभकामना व्यक्त गर्नुभयो। संरक्षक रामप्रसाद ढुंगानाले संस्थाको आगामी भूमिकाका विषयमा विभिन्न सुझाव तथा जिज्ञासा प्रस्तुत गर्नुभएको थियो।

निर्वाचन समिति संयोजक **इन्द्रबहादुर क्षेत्री (पकवान)**ले नव निर्वाचित कार्यसमिति, संरक्षक, सल्लाहकार, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको नामावली घोषणा गर्दै प्रमाणपत्र वितरण गर्नुभयो। अधिवेशनले विधानअनुसार बाँकी पदमा आवश्यक परामर्शका आधारमा मनोनयन गर्ने अधिकार कार्यसमितिलाई प्रदान गरेको जानकारी पनि दिइयो।

यसै क्रममा निवर्तमान सभापति सुबाष गुरुङले नवनिर्वाचित सभापति देबु शर्मा पौडेललाई संस्थाका अभिलेख तथा आवश्यक दस्तावेज हस्तान्तरण गर्नुभयो। गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने कार्यसमिति, नेपाली कांग्रेस, पूर्व कार्यसमिति तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिनुभयो।

दोस्रो चरणको कार्यक्रम नवनिर्वाचित महामन्त्री **बुद्ध अधिकारी (दिपशन)**को सञ्चालन तथा अर्का महामन्त्री अन्जु मल्ल ठकुरीको समसामयिक एजेन्डा प्रस्तुति र उपस्थिति व्यवस्थापनमा अघि बढेको थियो। कार्यक्रममा पूर्व सभापतिहरू इन्द्र क्षेत्री (पकवान), गंगाधर गौतम, सुभाष जोशी र पूर्ण तिमिल्सिनाले आ–आफ्नो कार्यकालका अनुभव साझा गर्दै नयाँ कार्यसमितिलाई आवश्यक रचनात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा एनआरएनए आइसीसी सल्लाहकार गंगाधर गौतम र सुभाष जोशीलाई सम्मान गरिएको थियो। उहाँहरूको संस्थागत योगदान र अनुभवलाई सम्मान गर्दै आगामी दिनमा पनि नेपाली समुदाय तथा संस्थाको हितमा सक्रिय भूमिका निर्वाह गर्न अपेक्षा गरिएको बताइएको थियो।

प्रमुख अतिथि नाम्गेल नांमग्याल जंग्वु शेर्पाले संगठनलाई थप सुदृढ र विस्तार गर्नुपर्नेमा जोड दिँदै बैठकमा उठेका जिज्ञासा तथा विषयहरू सम्बन्धित निकायसम्म पुर्‍याउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवनिर्वाचित सभापति देबु शर्मा पौडेलले अग्रजहरूको अनुभव, सुझाव र मार्गदर्शनलाई आत्मसात् गर्दै समितिलाई थप सक्रिय, व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकले आवश्यकताअनुसार कार्यसमिति विस्तार गर्दै बाँकी पदमा मनोनयन गर्ने निर्णय गरेको छ भने विधानअनुसार कार्यसमिति सदस्य दीपक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ।

कार्यक्रमको अन्त्यमा अधिवेशन सफल बनाउन सहयोग गर्ने संस्थापक सदस्य, निवर्तमान कार्यसमिति, निर्वाचन समिति, नेपाली कांग्रेस, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै नयाँ कार्यसमितिले आगामी जिम्मेवारी इमानदारी र सक्रियताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। समितिका आगामी बैठक, एजेन्डा तथा कार्यक्रमको मिति र समय छिट्टै सार्वजनिक गरिने जानकारी दिइएको छ।


प्रतिक्रिया