बागमतीमा सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई सर्वसम्मत जिम्मेवारी

theoutsidenepal.com

बागमतीमा सरकार गठनका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई सर्वसम्मत जिम्मेवारी


नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई सर्वसम्मत रूपमा जिम्मेवारी दिएको छ।

संसदीय दलको बैठकले नेकपा (एमाले) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारमा सहभागी मन्त्रीहरूले समेत राजीनामा दिएको परिस्थितिमा सरकारलाई निरन्तरता दिन आवश्यक पहल गर्ने निर्णय गरेको हो। बैठकले बागमती प्रदेश सभामा रहेका सबै राजनीतिक दलसँग लिखित तथा मौखिक समन्वय गरी सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन र केन्द्रीय नेतृत्वसँग समन्वय गर्दै प्रक्रिया अघि बढाउन नेता बानियाँलाई जिम्मेवारी प्रदान गरेको जनाएको छ।

बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति गोपालमान श्रेष्ठको ७७ वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।

त्यसैगरी, सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले सबै पक्षलाई धैर्य, संयम र संवादमार्फत समस्या समाधान गर्न आग्रह गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। साथै, संघीय सरकारसँग समन्वय गरी आवश्यक कदम चाल्न बागमती प्रदेश सरकारसँग अनुरोध गरिएको निर्णयमा उल्लेख छ।


प्रतिक्रिया