काठमाडौंमा रात्रिकालीन बससेवा सुरु, नागरिकलाई राहत हुने अपेक्षा

theoutsidenepal.com

काठमाडौं महानगरपालिका ले आजदेखि रात्रिकालीन बससेवा सञ्चालनमा ल्याएको छ। साझा यातायात सँगको सहकार्यमा साँझ ७:०० बजेदेखि पुल्चोकबाट सेवा सुरु गरिएको हो।


महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल का अनुसार पहिलो चरणमा दुई प्रमुख रुटमा विद्युतीय बस सञ्चालन गरिएका छन्। पहिलो रुट ललितपुरको लगनखेलदेखि बूढानीलकण्ठसम्म (उत्तर–दक्षिण) सञ्चालन हुनेछ भने दोस्रो रुट थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म (पूर्व–पश्चिम) सञ्चालन हुनेछ।


लगनखेल–बूढानीलकण्ठ रुटमा पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूतिगृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै सेवा सञ्चालन हुनेछ। यो रुटको एकतर्फी दूरी करिब १६ किलोमिटर रहेको छ।


त्यसैगरी थानकोट–एयरपोर्ट रुटमा सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै सेवा सञ्चालन हुनेछ। यस रुटको एकतर्फी दूरी करिब २० किलोमिटर रहेको छ। यी दुई रुटमा चार वटा विद्युतीय बस सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ।


महानगरका अनुसार राति ८ बजेपछि सार्वजनिक यातायातको अभावका कारण महँगो भाडा तिर्नुपर्ने समस्यालाई समाधान गर्न यो सेवा सुरु गरिएको हो। कार्यवाहक प्रमुख डङ्गोलले विशेषगरी महिला, किशोरी र विद्यार्थीलाई सुरक्षित, सहज तथा सस्तो यातायात उपलब्ध गराउने उद्देश्य रहेको बताइन्।


बसहरू प्रत्येक २० मिनेटको अन्तरमा सञ्चालन हुनेछन्। यात्रु सुरक्षालाई ध्यानमा राख्दै बसमा सिसिटिभी क्यामरा जडान गरिनेछ भने नगरप्रहरी समेत परिचालन गरिने महानगरले जनाएको छ।


प्रतिक्रिया