मुनिन्द्र नेम्वाङ नेजस अमेरिका सभापतिमा निर्वाचित

theoutsidenepal.com

मुनिन्द्र नेम्वाङ नेजस अमेरिका सभापतिमा निर्वाचित

भर्जिनिया, भदौ १ — नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित हुनुभएको छ। शुक्रबारदेखि भर्जिनियामा सुरु भएको नेजस अमेरिकाको तेस्रो अधिवेशनबाट आइतबार नेम्वाङ सभापतिमा निर्वाचित हुनुभएको हो।

सभापति पदका लागि नेम्वाङसहित पाँच जनाले उम्मेदवारी दिएका थिए। करिब चार हजार सदस्य रहेको नेजस अमेरिका नेपाली कांग्रेसको सबैभन्दा ठूलो प्रवास संगठनका रूपमा चिनिन्छ।

अधिवेशनबाट १२ पदाधिकारी र १६ सदस्यसहित २८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ। वरिष्ठ उपसभापतिमा विनोद भट्ट निर्वाचित हुनुभएको छ। उपसभापतिमा सञ्जीव श्रेष्ठ, श्रीराम थापा, हरिप्रसाद शर्मा र निमा वाङ्जन निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै, महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल, सहमहामन्त्रीमा अनीता परियार र अर्जुन बम निर्वाचित हुनुभएको छ। कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल तथा युवा उपसभापतिमा सुशील खत्री निर्वाचित हुनुभएको छ।

नेजस अमेरिकाको यो अधिवेशन १२ वर्षपछि सम्पन्न भएको हो। नवनिर्वाचित सभापति नेम्वाङ यसअघि आनन्द विष्टको सभापतित्वमा गठित कार्यसमितिमा महासचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो।

निर्वाचित भएपछि नेम्वाङले लोकतान्त्रीकरण, सामाजिकीकरण र आधुनिकीकरणका लागि नेपाली कांग्रेसको नीति तथा कार्यक्रमअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूल नारालाई विशेष प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो।

यसअघि नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले अधिवेशनको उद्घाटन गर्दै पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो।

अधिवेशनमा अमेरिकाका विभिन्न राज्यबाट आएका करिब ६ सय मतदाता तथा शुभेच्छुकको सहभागिता रहेको थियो।


प्रतिक्रिया