एनआरएनए आईसीसी चुनाव निष्पक्ष र समावेशी हुनुपर्ने माग, साझा एनआरएनए निर्माणमा जोड

theoutsidenepal.com

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको आगामी निर्वाचनलाई लिएर संस्थान पक्षले निष्पक्ष, समावेशी र सबैलाई अटाउने ढंगले चुनाव गराउनुपर्ने माग अघि सारेको छ। फेब्रुअरीमा काठमाडौंमा हुन गइरहेको एनआरएनए आईसीसी निर्वाचनलाई विश्वभर रहेका नेपालीको साझा संस्था बनाउने अवसरका रूपमा लिनुपर्ने उनीहरूको धारणा छ।

संस्थान पक्षका अनुसार एनआरएनए कुनै गुट–उपगुटको होइन, विश्वभर रहेका ८० लाखभन्दा बढी नेपालीको साझा संगठन हुनुपर्छ। त्यसका लागि निर्वाचन प्रक्रिया पूर्ण रूपमा निष्पक्ष हुनुपर्ने, सबै उम्मेदवारलाई समान अवसर प्रदान गर्नुपर्ने र उम्मेदवार बन्न चाहने कोही पनि छुट्न नहुने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।

“एनआरएनए सबैको अपनत्व हुने संस्था हुनुपर्छ। गुटबाजीले होइन, साझा भावना र स्वीकार्य नेतृत्वमार्फत विश्वभरका नेपालीको नेतृत्व गर्न सक्ने संगठन निर्माण गर्नु आजको आवश्यकता हो,” संस्थान पक्षको भनाइ छ।

उनीहरूले निर्वाचन गराउने जिम्मेवारी लिने निर्वाचन संस्थालाई अझ सक्षम, स्वतन्त्र र विश्वासयोग्य बनाउन आवश्यक रहेको उल्लेख गर्दै पारदर्शी प्रणाली बिना एनआरएनएमा एकता सम्भव नहुने बताएका छन्।

संस्थान पक्षले अबको एनआरएनए भनेको व्यक्तिगत आकांक्षा वा गुटीय स्वार्थभन्दा माथि उठेर युवा पुस्ताको चाहना, समग्र नेपाली समुदायको अपेक्षा र सबैले स्वीकार गर्न सक्ने साझा नेतृत्व स्थापित गर्ने अभियान हुनुपर्ने धारणा राखेको छ।

फेब्रुअरीमा काठमाडौंमा हुने एनआरएनए आईसीसी निर्वाचनलाई विगतका विवाद अन्त्य गर्ने अवसरका रूपमा लिँदै उनीहरूले साझा एनआरएनए, सबैको एनआरएनए निर्माणतर्फ सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेका छन्।

प्रतिक्रिया