डायस्पोरा लगानी कम्पनीमार्फत नेपालको आर्थिक रूपान्तरणको अभियान, टोकियोमा विशेष सेमिनार हुँदै

theoutsidenepal.com

काठमाडौँ/टोकियो — विदेशमा रहेका नेपालीहरूको सामूहिक शक्ति र पूँजीलाई नेपालको आर्थिक विकासमा रूपान्तरण गर्ने महत्वाकांक्षी लक्ष्यसहित स्थापना गरिएको डायस्पोरा लगानी कम्पनीले अन्तर्राष्ट्रिय स्तरमै सकारात्मक सन्देश प्रवाह गर्न थालेको छ।


गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष रविन शेरचनको दूरदर्शी नेतृत्वमा अघि बढेको यो अभियानले अब विश्वभर रहेका नेपालीहरूलाई एकै प्लेटफर्ममा जोड्ने विश्वास गरिएको छ। कम्पनीमा श्रेष्ठ अध्यक्ष तथा शेरचन निर्देशकको भूमिकामा सक्रिय छन्।


यस कम्पनीले लगानीको नयाँ ढोका खोल्दै पारदर्शी प्रक्रिया, लगानीकर्ताको उच्च सहभागिता र आकर्षक प्रतिफलको सुनिश्चिततामा जोड दिएको छ। विशेषगरी नेपालको विभिन्न सम्भावनायुक्त क्षेत्रमा वैदेशिक पूँजी भित्र्याउने लक्ष्यले यसलाई ऐतिहासिक पहलको रूपमा हेरिएको छ।


यही सन्दर्भमा जापानको राजधानी टोकियोमा एकदिने विशेष सेमिनार आयोजना गरिने भएको छ। सेमिनारमार्फत कम्पनीको उद्देश्य, लगानी प्रक्रिया, सहभागी हुने तरिका तथा सम्भावित प्रतिफलबारे विस्तृत जानकारी प्रदान गरिने आयोजकले जनाएका छन्।


आइतबार, मे ३ तारिख साँझ ६ बजेदेखि टोकियोको गजेबो रेस्टुरेन्ट (शिन्जुकु) मा हुने उक्त कार्यक्रमले जापानस्थित नेपाली समुदायमा नयाँ उत्साह थप्ने विश्वास लिइएको छ।


विश्वभर छरिएका नेपालीहरूको लगानीलाई एकीकृत गर्दै मातृभूमिको समृद्धिमा योगदान पुर्‍याउने यो पहललाई अबको युगान्तकारी कदमका रूपमा लिइएको छ। विज्ञहरूका अनुसार, यस्तो सामूहिक लगानीले नेपालको आर्थिक विकासमा नयाँ आयाम थप्ने निश्चित छ।


प्रतिक्रिया