काठमाडौं, ८ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता महत्त्वपूर्ण सरकारी निकायलाई खारेज गर्नेभन्दा सुधार र सुदृढीकरणमार्फत अझ प्रभावकारी बनाउने बताएका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग संवाद गर्दै उनले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भए मात्र सरकारको सेवा प्रवाह प्रभावकारी हुने धारणा राखे। “यी निकायहरूलाई सुधार गर्न सके सरकार सञ्चालनमा ठुलो सहयोग पुग्नेछ,” उनले भने।
नीति अनुसन्धान प्रतिष्ठानको भूमिकाबारे बोल्दै प्रधानमन्त्री शाहले विषय विज्ञ र अनुसन्धानकर्ताको महत्त्व विशेष रहेको उल्लेख गरे। “हामीलाई यस्तो उत्कृष्ट विज्ञता चाहिएको हो, जसले जनप्रतिनिधिभन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सकोस्। सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्नेछ,” उनले स्पष्ट पारे।
प्रधानमन्त्रीले दुवै निकायलाई बहानाबाजी नगरी स्पष्ट नतिजा दिने गरी काम गर्न निर्देशन दिएका छन्। “कुनै पनि कार्य सम्पादन गर्दा ठोस योजना र सजग कार्यान्वयन आवश्यक हुन्छ। विकासमा विषय विज्ञको भूमिका अतुलनीय हुन्छ,” उनले जोड दिए।