गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसि) की उपाध्यक्ष जुनु गुरुङलाई आप्रवासी कामदार मानसिक स्वास्थ्य समितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
आईसिसिको हालै बसेको बैठकले उपाध्यक्ष गुरुङलाई उक्त महत्वपूर्ण जिम्मेवारी दिएको हो। जिम्मेवारी सम्हाले लगत्तै उनले आफू अत्यन्त गर्वान्वित भएको र नयाँ भूमिकाप्रति पूर्ण रूपमा जिम्मेवार रहेको बताएकी छन्।
गुरुङका अनुसार विश्वभर रहेका लाखौँ नेपाली श्रमिकहरू मानसिक रूपमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छन्। प्रवासमा रहेका नेपालीहरू मानसिक तनाव, डिप्रेसन, एन्जाइटी, कार्यदबाब तथा सामाजिक समस्याबाट प्रभावित भइरहेका छन्। कामको चाप, परिवारसँगको दूरी तथा कतिपय अवस्थामा भोग्नुपरेको अपमानजनक व्यवहारका कारण उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको उनले उल्लेख गरिन्।
यस्तो परिस्थितिमा मानसिक सन्तुलन कायम राख्न तथा श्रमिकहरूलाई आत्मविश्वासी र सबल बनाउन मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू प्रभावकारी हुने विश्वास उनले व्यक्त गरिन्।
गुरुङले प्रवासमा रहेका संघ–संस्था, अभियन्ता तथा सम्पूर्ण नेपाली समुदायसँग सहकार्य, समन्वय र एकताको माध्यमबाट यस अभियानलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएकी छन्। साथै, समितिको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न आफूले पूर्ण समर्पणका साथ निरन्तर मेहनत गर्ने बताएकी छन्।
उनले विदेशमा काम, अध्ययन, व्यवसाय तथा अन्य उद्देश्यले बसोबास गरिरहेका नेपालीहरूको हितमा केन्द्रित रहेर कार्य गर्ने स्पष्ट पारेकी छन्।