रुपन्देही–१ मा श्रद्धा कुँवरको बलियो प्रवेश : रास्वपाबाट समानुपातिक उम्मेदवार, युवामा बढ्दो आकर्षण

theoutsidenepal.com

रुपन्देही–१ मा राजनीतिक माहोल तातिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवार बनेकी श्रद्धा कुँवरले आफ्नो औपचारिक राजनीतिक अडान सार्वजनिक गरेकी छन्। लामो समयदेखि गाउँ–समाज र भूगोलका सामाजिक तथा राजनीतिक अभियानमा सक्रिय रहँदै आएकी उनले व्यक्तिगत स्वार्थभन्दा सधैं विचार, एजेन्डा र सिद्धान्तलाई प्राथमिकता दिएको बताएकी छन्। युवावस्थादेखि नै सामाजिक काममा संलग्न रहँदा देशका विद्यमान समस्या नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनले नेपालमा आमूल परिवर्तनका लागि युवाको राजनीतिक सहभागिता अनिवार्य रहेको धारणा व्यक्त गरिन्।


उनले विगतमा आबद्ध राजनीतिक दलसँग मूल्य र सिद्धान्त नमिलेपछि पद वा अवसरको लोभ नगरी अलगिएको स्पष्ट पारिन्। विशेषगरी भदौ २३ गते भएको Gen Z युवा आन्दोलनमा राज्य पक्षबाट भएको बर्बरतापूर्ण घटनाक्रमले आफूलाई गम्भीर रूपमा आहत बनाएको र त्यसपछि पुरानो राजनीतिक यात्राबाट अलग हुने निर्णय लिएको बताइन्। वर्तमान राष्ट्रिय परिस्थिति, जनताको अपेक्षा र परिवर्तनको आवश्यकता मध्यनजर गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी बाट नयाँ राजनीतिक यात्रा सुरु गर्ने अठोट लिएको जानकारी दिइन्।


देवदह, रुपन्देहीका रास्वपाका अग्रज नेताहरूले देखाएको हार्दिकता र सद्भावले आफू थप उत्साहित भएको उल्लेख गर्दै उनले आगामी जिम्मेवारी सामूहिक रूपमा पूरा गर्ने विश्वास व्यक्त गरिन्। समाजमा व्याप्त निराशा, बेथिति र गलत अभ्यासविरुद्ध आफू सधैं आवाज उठाउँदै आएको र अब त्यसलाई संस्थागत रूपमै अगाडि बढाउने प्रतिबद्धता जनाइन्।


रुपन्देही–१ मा उनको पकड बलियो रहेको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ। घरदैलो, भेटघाट र युवा परिचालनमा सक्रिय श्रद्धा कुँवरप्रति जनतामा सकारात्मक आकर्षण देखिएको समर्थकहरू बताउँछन्। उनले इमानदार सोच, स्पष्ट दृष्टिकोण र युवाको सक्रिय भूमिकाबाट मात्र सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै सम्पूर्ण मतदाता तथा समर्थकलाई रास्वपाको विजय अभियानमा एकीकृत हुन आह्वान गरेकी छन्।


प्रतिक्रिया