पूर्व जनमुक्ति सेना सदस्य डाइमण्ड सी म्याग्देलीले रुसी सेनामा अत्याधुनिक हतियार सञ्चालनको अनुभव सुनाए

theoutsidenepal.com

पूर्व जनमुक्ति सेना सदस्य डाइमण्ड सी म्याग्देलीले रुसी सेनामा अत्याधुनिक हतियार सञ्चालनको अनुभव सुनाए

काठमाडौं । हाल रुसी सेनामा कार्यरत नेपाली नागरिक डाईमण्ड सी म्याग्देली ले युद्धक्षेत्रमा अत्याधुनिक हतियार सञ्चालन तथा प्रयोगको दुर्लभ अनुभव हासिल गरेको बताएका छन्।

सामाजिक सञ्जालमा आफ्नो अनुभव साझा गर्दै म्याग्देलीले रुसी सेनामा रहँदा ३०० टन क्षमताको हेभी ग्लाइड बम, मल्टिपल रकेट लञ्चर प्रणाली तथा विभिन्न विशेषतायुक्त पाँच प्रकारका मिसाइलबाहेक इन्फेन्ट्री र आर्टिलरी अन्तर्गतका अधिकांश हतियार सञ्चालन र प्रयोग गर्ने अवसर प्राप्त भएको उल्लेख गरेका छन्।


उनले विशेषगरी सेमी ग्रिनेड लञ्चरसहितका विभिन्न आधुनिक हतियारबारे आफ्नो अनुभव सार्वजनिक गरेका छन्। युद्धमैदानमा प्रयोग हुने अत्याधुनिक सैन्य प्रविधि र हतियार प्रणालीसँग प्रत्यक्ष रूपमा काम गर्न पाएको अनुभवलाई उनले आफ्नो जीवनको महत्वपूर्ण अध्यायका रूपमा चित्रण गरेका छन्।

म्याग्देलीको पृष्ठभूमि पनि रोचक रहेको बताइन्छ। उनी नेपालमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादी जनमुक्ति सेनासँग आबद्ध रहेका थिए। द्वन्द्वकालमा विद्रोही सेनाको सदस्यका रूपमा रहेका उनी अहिले रुसी सेनामा कार्यरत रहेको खुलेको छ।

उनको पछिल्लो अभिव्यक्तिले नेपाली नागरिकहरू विभिन्न देशका सैन्य संरचनामा आबद्ध भई अन्तर्राष्ट्रिय स्तरका सैन्य अनुभव प्राप्त गरिरहेको विषयलाई पुनः चर्चामा ल्याएको छ।

यद्यपि म्याग्देलीले आफ्नो स्टाटसमार्फत कुनै सैन्य अभियान वा युद्धसम्बन्धी संवेदनशील विवरण सार्वजनिक नगरी आफूले प्राप्त गरेको व्यावसायिक तथा प्राविधिक अनुभव मात्र साझा गरेका छन्।


प्रतिक्रिया