गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण, प्रविधिमैत्री र जनमुखी सेवा प्रवाहमा जोड

theoutsidenepal.com

माननीय गृहमन्त्री सुधन गुरूङ ले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरी संगठनलाई थप प्रभावकारी, प्रविधिमैत्री र जनमुखी बनाउन निर्देशन दिनुभएको छ।


निरीक्षणका क्रममा गृहमन्त्री गुरूङलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्की लगायत उच्च प्रहरी अधिकारीहरूले स्वागत गर्नुभएको थियो। सो अवसरमा उहाँले परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो।


गृहमन्त्रीले निरीक्षणका क्रममा प्रहरी सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, आर्टिफिसियल इन्टेलिजेन्स तथा एड्भान्स एनालिटिक्स सेल, डाटा सेन्टर र पोलीग्राफ शाखाको अवलोकन गर्दै त्यहाँ भइरहेका गतिविधिबारे जानकारी लिनुभयो।


कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। आगामी दिनमा थप आत्मविश्वासका साथ काम गर्न निर्देशन दिँदै प्रहरी कार्यमा कुनै पनि प्रकारको हस्तक्षेप हुन नदिने स्पष्ट पार्नुभयो।


उहाँले प्रहरी र नागरिकबीचको दूरी घटाउनुपर्ने आवश्यकता औंल्याउँदै शिष्ट व्यवहार, प्रभावकारी सेवा प्रवाह र नागरिकमैत्री कार्यशैली अपनाउन जोड दिनुभयो। साथै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुभयो।


विपद् व्यवस्थापनमा प्रहरीको अग्रणी भूमिका आवश्यक रहेको उल्लेख गर्दै आवश्यक तालिम र स्रोतसाधन उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। प्रहरी संगठनको सुदृढीकरण, वृत्ति विकास र प्रविधिमैत्री रूपान्तरणलाई प्राथमिकतामा राखिने उहाँको भनाइ थियो।


कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले बदलिँदो परिवेशअनुसार छिटो, चुस्त र प्रभावकारी सेवा दिन निर्देशन दिनुभयो।


धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक कार्कीले संविधान र कानुनको दायराभित्र रही मानवअधिकारको सम्मान गर्दै सेवा, सुरक्षा र समर्पणका साथ कार्य गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले गृहमन्त्रीबाट प्राप्त निर्देशनले प्रहरी संगठनको मनोबल अझ उच्च बनाएको बताउनुभयो।


निरीक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्ट ले नेपाल प्रहरीको संरचना, जनशक्ति, अपराध अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय लगायत विषयमा विस्तृत प्रस्तुतीकरण दिनुभएको थियो।


उक्त कार्यक्रममा गृह मन्त्रालयका पदाधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू तथा देशभरका विभिन्न प्रहरी इकाइका प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।


प्रतिक्रिया