टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन शनिवारदेखि
धनगढी, जेठ २२ – संघीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले कैलालीको टीकापुर मा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन शनिवार देखि सुरु हुँदैछ।
जेठ २३ र २४ गते सञ्चालन हुने उक्त सम्मेलनमा संघीय संसद र प्रदेश सभाका प्रमुख पदाधिकारीहरूको सहभागिता रहनेछ। सम्मेलनमार्फत संघीय तथा प्रदेश तहका व्यवस्थापिकाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, संसदीय अभ्यासका अनुभवहरू साझा गर्ने तथा लोकतान्त्रिक संस्थाहरूको प्रभावकारिता अभिवृद्धि गर्ने विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
सम्मेलनमा सहभागी हुन प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधिसभाका उपसभामुख रूबी कुमारी तथा राष्ट्रियसभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी लगायत संघीय संसद तथा सातवटै प्रदेश सभाका पदाधिकारीहरू शुक्रबार धनगढी आइपुगेका छन्।
दुई दिनसम्म चल्ने सम्मेलनमा संघीयता कार्यान्वयनका अनुभव, व्यवस्थापिकाहरूबीचको समन्वय, कानुन निर्माण प्रक्रिया, संसदीय अभ्यासका चुनौती तथा अवसरलगायत विषयमा गहन छलफल हुने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार सम्मेलनले संघीय संसद र प्रदेश सभाबीच सहकार्यको नयाँ आधार तयार गर्दै संसदीय प्रणालीलाई थप प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।