काठमाडौं — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले संगठनको हित र संस्थागत विकासका लागि प्राथमिकताहरू पहिचान गरी कार्ययोजनाअनुसारका क्रियाकलापहरू गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। वार्षिक लक्ष्य हासिल गर्न आगामी दिनमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति–सुरक्षा व्यवस्थापनलाई थप चुस्त र व्यवस्थित बनाउँदै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो। साथै ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण, फरार अभियुक्त पक्राउ, आर्थिक तथा वित्तीय अपराध नियन्त्रण, राजस्व चुहावट रोकथाम र आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी अझ सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। हिरासत व्यवस्थापनमा संवेदनशीलता अपनाउँदै सुधारका क्षेत्र पहिचान गरी असल अभ्यासहरू आत्मसात गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले नेपाल प्रहरीका पाँचै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयहरूको अर्धवार्षिक कार्यप्रगति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। प्रस्तुतीकरणमा प्रमुख उपलब्धि, कार्यान्वयनका चुनौती, प्रगति प्रतिवेदनमा देखिएका समस्या र सुधारका सम्भावित क्षेत्रहरू समेटिएका थिए।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूको प्रत्यक्ष उपस्थिति रहेको थियो भने सातै प्रदेशका प्रहरी कार्यालय, तालिम केन्द्र, गण तथा राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए।