मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव सम्पन्न, ट्राफिक सचेतनामा प्रविधिमैत्री सूचना प्रवाहमा जोड

theoutsidenepal.com

मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव सम्पन्न, ट्राफिक सचेतनामा प्रविधिमैत्री सूचना प्रवाहमा जोड

काठमाडौं, साउन ८ — मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १४औँ वार्षिकोत्सव शुक्रबार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

समारोहका अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सहयोगी संस्था, विज्ञापनदाता तथा उत्कृष्ट सवारी चालकहरूलाई कदरपत्र प्रदान गर्नुका साथै ट्राफिक जनचेतनामूलक गीतको विमोचन गर्नुभयो।


कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मेट्रो ट्राफिक एफएमले स्थापनाकालदेखि नै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण, अपराधविरुद्ध जनचेतना अभिवृद्धि तथा सुरक्षा सम्बन्धी सही र विश्वसनीय सूचना प्रवाहमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो। साथै एफएमको सफल सञ्चालनमा सहयोग पुर्‍याउने सबै निकाय, स्थानीय तह, सञ्चारकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान दिने सबैप्रति आभार व्यक्त गर्दै संस्थाको थप प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो।


प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै मेट्रो ट्राफिक एफएमले पनि सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत नागरिकसम्म अझ छिटो, भरपर्दो र विश्वसनीय सूचना पुर्‍याउन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले समयानुकूल, नवप्रवर्तनात्मक र नागरिकमुखी कार्यक्रममार्फत सडक सुरक्षा तथा ट्राफिक सचेतनालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो।


कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यस्तै ललितपुर महानगरपालिकाका निमित्त नगरप्रमुख मञ्जली शाक्य बज्राचार्य, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाल तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले स्वागत मन्तव्यसहित एफएमको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा मेट्रो ट्राफिक एफएमको यात्रा, उपलब्धि तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक श्रव्य–दृश्य सामग्री पनि प्रस्तुत गरिएको थियो।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, वरिष्ठ कलाकार, प्रहरी अधिकृत, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थी तथा अन्य आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रतिक्रिया