मकाउका नेपाली श्रमिकका पक्षमा युवराज न्यौपानेको बुलन्द आवाज : श्रम प्रक्रिया सुधारदेखि मानद श्रमदूतको मागसम्म

theoutsidenepal.com

मकाउका नेपाली श्रमिकका पक्षमा युवराज न्यौपानेको बुलन्द आवाज : श्रम प्रक्रिया सुधारदेखि मानद श्रमदूतको मागसम्म

ग्वाङझाउ, चीन — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया–प्यासिफिक क्षेत्रीय ११औँ सम्मेलन ‘आरोहण २०२६’ मा एनआरएनए एनसीसी मकाउका अध्यक्ष युवराज न्यौपानेले मकाउमा रहेका नेपाली श्रमिकका समस्या, सुरक्षित वैदेशिक रोजगारी र श्रमिकको अधिकार संरक्षणका विषयमा प्रभावकारी रूपमा आवाज उठाएका छन्। अगस्ट १४ देखि १६ सम्म चीनको ग्वाङझाउमा सम्पन्न सम्मेलनमा न्यौपानेले मकाउमा नेपाली समुदायले भोगिरहेका व्यावहारिक समस्या समाधानका लागि नेपाल सरकार, एनआरएनए र सम्बन्धित निकायबीच उच्चस्तरीय समन्वय आवश्यक रहेको धारणा प्रस्तुत गरे।


न्यौपानेले विशेषगरी अवैध बिचौलियाको अन्त्य र श्रम प्रक्रियालाई व्यवस्थित बनाउने विषयलाई तत्काल सम्बोधन गर्नुपर्ने माग अघि सारे। उनका अनुसार मकाउमा धेरै नेपाली कामदार आधिकारिक मेनपावर कम्पनीको माध्यमबाट नभई व्यक्तिगत बिचौलिया तथा अनौपचारिक च्यानलमार्फत नक्कली वा अपूर्ण कागजात, भिजिटिङ भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिका माध्यमबाट पुग्ने गरेका छन्। ठूलो रकम असुल्ने त्यस्ता बिचौलियाले कामदारलाई मकाउ पुर्‍याएपछि अलपत्र पार्ने वा सम्पर्कविहीन हुने घटनाले नेपाली श्रमिक स्वयं पीडित हुनुका साथै वैधानिक रोजगारदाता र समग्र नेपाली समुदायको प्रतिष्ठामा समेत असर पारिरहेको न्यौपानेको भनाइ छ।


उनले व्यक्तिगत श्रम स्वीकृतिको माध्यमबाट मकाउ जाने प्रवृत्ति तत्काल रोक्न नेपाल सरकारसँग आग्रह गरेका छन्। सबै नेपाली कामदारलाई नेपाल सरकारबाट स्वीकृत आधिकारिक मेनपावर कम्पनीमार्फत मात्र मकाउ पठाउने र सम्बन्धित मेनपावर कम्पनीले महावाणिज्य दूतावास तथा वैदेशिक रोजगार विभागले निर्धारण गरेको कानुनी प्रक्रियाअनुसार काम गर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकाय, महावाणिज्य दूतावास र एनआरएनए एनसीसी मकाउबीच विशेष समन्वय संयन्त्र निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन्।


‘कामदारको सुरक्षासँगै वैधानिक श्रम व्यवसायको अस्तित्व पनि जोगाउनुपर्छ’ भन्ने न्यौपानेको तर्क छ। श्रम स्वीकृति, रोजगारदाता, भिसा प्रक्रिया र कामदारको वास्तविक विवरणबीच स्पष्ट समन्वय कायम गर्न सके मात्रै बिचौलियाको चलखेल नियन्त्रण गर्न सकिने र मानव ओसारपसार तथा ठगीको जोखिम घटाउन सकिने उनको धारणा छ। उनले मकाउ जाने श्रमिकलाई सुरक्षित, पारदर्शी र व्यवस्थित वैदेशिक रोजगारीको बाटो सुनिश्चित गर्न सरकारलाई ठोस नीति बनाउन आग्रह गरेका छन्।


त्यसैगरी न्यौपानेले एनआरएनए प्रतिनिधिहरूलाई ‘मानद (अवैतनिक) श्रम दूत’को मान्यता दिनुपर्ने विषयलाई पनि सम्मेलनमा विशेष प्राथमिकताका साथ उठाएका छन्। संकटमा परेका नेपाली श्रमिकलाई तत्काल राहत, कानुनी सहायता, अस्पतालमा उपचारका लागि सहजीकरण तथा अकालमा मृत्यु भएका नेपालीको शव परिवारसम्म पुर्‍याउने प्रक्रियामा एनआरएनए प्रतिनिधिहरूले प्रत्यक्ष भूमिका निर्वाह गर्दै आए पनि उनीहरूसँग औपचारिक कानुनी अधिकार नहुँदा समस्या समाधानमा कठिनाइ हुने गरेको उनले बताए।


विशेषगरी मकाउमा नेपाल सरकारको आधिकारिक नियोगको प्रत्यक्ष उपस्थिति नरहेको अवस्थामा नेपाली समुदायका समस्या समाधान गर्न स्थानीय स्तरमा सक्रिय एनआरएनए नेतृत्वलाई संस्थागत रूपमा परिचालन गर्नुपर्ने न्यौपानेको माग छ। उनले मकाउका लागि एनआरएनए एनसीसी अध्यक्षलाई तत्काल ‘मानद श्रम दूत’का रूपमा मान्यता दिने निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। यस्तो मान्यताले संकटमा परेका श्रमिकलाई तत्काल सहयोग पुर्‍याउन, सम्बन्धित निकायसँग समन्वय गर्न तथा आपत्कालीन अवस्थामा नेपाली नागरिकको हित संरक्षण गर्न थप प्रभावकारी वातावरण निर्माण हुने उनको विश्वास छ।


न्यौपानेले मकाउमा कार्यरत नेपालीका परिवारका सदस्यका लागि डिपेन्डेन्ट भिसाको व्यवस्था तथा घरेलु कामदारका लागि श्रम स्वीकृतिको विषयलाई पनि समान रूपमा प्राथमिकतामा राख्न आग्रह गरेका छन्। उनका अनुसार मकाउमा घरेलु कामदारका लागि रोजगारीको सम्भावना रहे पनि नेपाली कामदारका लागि श्रम स्वीकृति प्रक्रियामा देखिएको समस्या समाधान हुन सकेमा महिला श्रमिकका लागि समेत सुरक्षित रोजगारीको नयाँ अवसर सिर्जना हुन सक्छ।


सम्मेलनमा सहभागी नेपालका संघीय संसद सदस्य तथा विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूले मकाउका नेपाली समुदायले उठाएका यी विषयलाई गम्भीरतापूर्वक लिँदै संसदमा समेत आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको न्यौपानेले बताएका छन्। यसले मकाउमा रहेका नेपाली श्रमिकका समस्या नेपाल सरकारको नीतिगत तहसम्म पुर्‍याउन महत्वपूर्ण आधार तयार गरेको उनको बुझाइ छ।


युवराज न्यौपाने : मकाउका नेपालीको भरोसायोग्य आवाज

मकाउमा नेपाली समुदायको हकहित, सुरक्षित वैदेशिक रोजगारी र श्रमिक अधिकारका विषयमा निरन्तर सक्रिय रहँदै आएका एनआरएनए एनसीसी मकाउका अध्यक्ष युवराज न्यौपाने प्रभावशाली एनआरएनए नेताका रूपमा स्थापित हुँदै गएका छन्। व्यक्तिगत लोकप्रियताभन्दा पनि समुदायका व्यावहारिक समस्या नीति निर्माणको तहसम्म पुर्‍याउने प्रयासका कारण उनको नेतृत्वले पछिल्लो समय विशेष चर्चा पाएको छ।

ग्वाङझाउ सम्मेलनमा उनले उठाएका मागले पनि उनको नेतृत्वको प्राथमिकता स्पष्ट पारेको छ—नेपाली श्रमिकलाई सुरक्षित रोजगारी, बिचौलियामुक्त श्रम प्रक्रिया, संकटमा तत्काल राज्यको संरक्षण र विदेशमा रहेका नेपालीको अधिकारका लागि संस्थागत संयन्त्र।


मकाउमा रहेका नेपालीको समस्या समाधानका लागि सरकार र राजनीतिक दललाई प्रत्यक्ष रूपमा जवाफदेही बनाउनुपर्ने आवाज उठाउँदै न्यौपानेले सम्मेलनलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी मकाउका नेपाली श्रमिकका वास्तविक समस्या समाधानको नीति निर्माण गर्ने थलोका रूपमा उपयोग गरेका छन्।

मकाउको नेपाली समुदायको दीर्घकालीन समृद्धि र स्थायित्वका लागि नेपाल सरकार, एनआरएनए, कूटनीतिक नियोग, श्रम व्यवसायी तथा स्थानीय नेपाली समुदायबीच सहकार्य अपरिहार्य रहेको उनको निष्कर्ष छ। यही उद्देश्यसहित न्यौपानेले सम्मेलनमार्फत उठाएका माग अब प्रतिबद्धतामै सीमित नरही कार्यान्वयनको चरणमा पुग्नुपर्नेमा जोड दिएका छन्।

प्रस्तुतकर्ता :
युवराज न्यौपाने
अध्यक्ष, एनआरएनए एनसीसी मकाउ


प्रतिक्रिया