दक्षिण कोरिया — नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको ८औँ अधिवेशन हिजो सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रूपमा सन्तोष खड्का अध्यक्ष पदमा तथा बासुदेव भट्ट सचिव पदमा चयन हुनुभएको छ।
अधिवेशनले नयाँ नेतृत्व चयनसँगै पत्रकारिताको व्यावसायिकता, मर्यादा र प्रवासी नेपाली समुदायका सवाललाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेको छ। नवनिर्वाचित अध्यक्ष खड्काले प्रवासी भूमिमा नेपाली पत्रकारितालाई अझ जिम्मेवार, विश्वसनीय र एकताबद्ध बनाउँदै महासंघलाई संस्थागत रूपमा सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी सचिवमा चयन भएका भट्टले संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउँदै सदस्यहरूबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिने बताउनुभयो।
अधिवेशनबाट चयन भएका अध्यक्ष, सचिवसहित सम्पूर्ण कार्यसमितिलाई विभिन्न संघ–संस्था, पत्रकार तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नयाँ नेतृत्वले दक्षिण कोरियामा क्रियाशील नेपाली पत्रकारहरूको हक–हित संरक्षण, क्षमता अभिवृद्धि र प्रवासी नेपाली समुदायका आवाजलाई सशक्त रूपमा उठाउने अपेक्षा गरिएको छ।