झापा — नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) डम्बर बहादुर बि.क. प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा चुनावी निरीक्षणका लागि जिल्ला प्रहरी कार्यालय झापामा पुग्नुभएको छ।
निरीक्षणका क्रममा उहाँले निर्वाचन अवधिभर शान्ति सुरक्षा अवस्था, निर्वाचन तयारी, प्रहरी कर्मचारी व्यवस्थापन, परिचालन योजना तथा समग्र कार्यसम्पादनका विषयमा विस्तृत अनुगमन गर्नुभएको थियो। साथै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहने बताउँदै उहाँले आवश्यक निर्देशन दिनुभएको थियो।
AIG बि.क.ले निर्वाचनका बेला कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाउन, सूचनाको प्रभावकारी समन्वय गर्न तथा संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाउन निर्देशन दिनुभएको जनाइएको छ। उहाँले प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै जनताको विश्वास कायम राख्ने गरी पेशागत आचरण प्रदर्शन गर्न समेत सुझाव दिनुभयो।
जिल्ला प्रहरी कार्यालय झापाले निर्वाचन सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाएको छ।