रियादमा ‘दोस्रो रोम लामा सांगीतिक तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६’ आयोजना हुँदै

theoutsidenepal.com

रियादमा ‘दोस्रो रोम लामा सांगीतिक तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६’ आयोजना हुँदै

जुलाई ३१ मा हुने भव्य सांस्कृतिक महोत्सवमा नेपालका चर्चित कलाकारसहित साउदीभरका स्थानीय नेपाली कलाकारको प्रस्तुति, प्रवेश निःशुल्क


रियाद, साउदी अरब । साउदी अरबमा बसोबास गर्ने नेपाली समुदायबीच नेपाली कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण, संवर्धन र प्रवर्द्धन गर्ने उद्देश्यले ‘दोस्रो रोम लामा सांगीतिक तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६’ आयोजना हुने भएको छ।

गायक तथा कार्यक्रम संयोजक रोम लामाको एकल आयोजनामा हुने उक्त सांस्कृतिक महोत्सवमा साउदी अरबस्थित विभिन्न नेपाली संघ–संस्था, भातृ संगठनहरू तथा नेपाली दूतावास रियादका राजदूतसहित कूटनीतिक अधिकारीहरूको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ।

यसअघि पनि साउदी अरबमा सफल र ऐतिहासिक सांस्कृतिक कार्यक्रम आयोजना गरिसकेका संयोजक रोम लामाले यस वर्षको कार्यक्रमलाई अझ व्यवस्थित, आकर्षक र भव्य बनाइने बताएका छन्। कार्यक्रममा रोम लामासँगै साउदी अरबका विभिन्न क्षेत्रमा रहेका प्रतिभाशाली नेपाली कलाकारहरू तथा नेपालका केही चर्चित कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

आयोजकका अनुसार कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो भाषा, कला, संस्कृति र मौलिक पहिचानसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

यो भव्य सांस्कृतिक महोत्सव २०२६ जुलाई ३१ (शुक्रबार) बिहान ११:०० बजेदेखि राति ९:०० बजेसम्म रियादस्थित एक्जिट–१३, खुरैस रोडमा आयोजना हुनेछ। कार्यक्रममा प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ।

कार्यक्रम संयोजक रोम लामाले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा सहभागी भई प्रवासमा नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा अभियानलाई सफल बनाउन आग्रह गरेका छन्।

“प्रवासमा रहेर पनि आफ्नो देशको कला र संस्कृति जोगाउने यो महाअभियान हामी सबैको साझा अभियान हो। नेपाली दूतावास रियादका विशिष्ट व्यक्तित्वहरू, स्थानीय संघ–संस्थाका प्रतिनिधिहरू तथा सम्पूर्ण सञ्चारकर्मी साथीहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।”
— रोम लामा, गायक तथा कार्यक्रम संयोजक


प्रतिक्रिया